
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३० दिन बाँकी हुँदा राष्ट्रिय खेलकुद परिषदले खेलस्थलको टुङ्गो लगाएको छ ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ७ जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी राखेपको खेलस्थल व्यवस्थापन उपसमितिले टुङ्गो लगाएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचार प्रसार उपसमितिको आयोजनामा पोखरामा भएको पत्रकार सम्मेलन राखेपले प्रतियोगिताहरु कास्की, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने जनाएको छ । तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा भने कुनै पनि खेल आयोजना नगर्ने राखेपले निर्णय गरेको छ । जसमध्ये सुटिङ र पुरुष क्रिकेट काठमाण्डौमा तय गरिएको छ । ति दुई खेल मध्य क्रिकेटको खेल भने जारी रहेको छ ।
सार्वजनिक गरिएका खेलस्थल मध्ये पोखराको फिस्टेल एकेडेमीमा स्विमिङ, पुरुष हक्की हेमजा गौरी शंकर खेल मैदान, महिला हक्की गण्डकी वोर्डिङ स्कुल, म्याग्दीमा तेक्वान्दो र महिला भलिबल बाग्लुङमा आईटिएफ तेक्वान्दो, नवलपुरमा सेपाक्ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल, स्याङजाको वालिङमा महिला फुटबल हुनेछन् । यद्यपी महिला फुटबलको भने अझै टुङ्गो लाग्न बाँकी रहेको परिषदले जनाएको छ । प्याराग्लाइडिङ पोखराको सराङकोटमा हुनेछ ।
एथलेटिक्स(ट्रयाक एण्ड फिल्ड) पोखरा रंगशालामा हुने छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाइने छ । शारीरिक सुगठन पोखरा सभागृह, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, रग्बी भण्डारढीक खेल मैदान, कबड्डी रन्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशाला ह्याण्डबल एकेडेमीमा खेलाईने भएको छ ।
टेवल टेनिस पोखरा इन्द्रमार्गस्थित कोल्माबाहकोट समाज, साईक्लिङ पोखराको रानीबनमा र ट्राइयाथोलन लेकसाईडमा हुनेछन् । खेल तालिका अनुुसार असोज २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता शुरु हुने छ । २४ गते उसु र फेन्सिङ प्रतियोगिता असोज २५ गते महिला तथा पुरुष कबड्डी, २७ गते बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, महिला तथा पुरुष फुटबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सुरु हुनेछन् । प्याराग्लाइडिङ असोज २८ गतेबाट सुरु हुनेछ ।
खेलस्थल तथा खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
सो अवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवम खेलस्थल व्यवस्थापन समितिका संयोजक राजेश कुमार गुरुङ, प्राविधिक उपसमितिका संयोजक हिमाल दाहाल, प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले आफ्ना भनाई राखेका थिए । कार्यक्रम राखेप सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र विष्टको संयोजकत्वमा भएको थियो ।
सो अवसरमा मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको वेवसाइट र सदस्य सचिव घिसिङले मोवाइल एप्सको शुभारम्भ गरेका थिए ।
