
पोखरा स्पोर्टस । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खेल पोखरा १८ स्थित सराङ्गकोट तोरीपानीबाट हुने भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले उक्त कुरा जानकारी गराएको हो । मंगलबार मात्रै प्याराग्लाइडिङ खेलाडी र प्याराग्लाइडिङ खेल सम्वद्ध संस्थाहरुले खेलस्थल व्यवस्थापन समितिका संयोजक राजेश गुरुङ संग भेट गरी पोखरा बाहेक अन्य ठाउँमा प्रतियोगिता हुन नसक्ने भन्दै विरोध जनाएका थिए ।
खेलाडीहरुले प्रतियोगितामा सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै पोखरा भन्दा बाहिर प्रतियोगिता आयोजना भए सहभागिता नजनाउने स्पष्ट समेत गरेका थिए । यद्यपी राष्ट्रिय खेलकुद परिषदले खेलस्थलका बारेमा भने अझै टुङ्गो भने लगाएको छैन । तर संघले प्रतियोगितास्थाल सराङकोटको तोरीपानीबाट हुने जनाउँदै सबै खेलाडीहरुलाई तयारीमा जुट्न समेत भनेको छ ।
असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने प्याराग्लाइडिङतर्फ ४ इभेन्ट्समा प्रतियोगिता हुने संघले जनाएको छ । संघका महासचिव शैलेन्द राउतका अनुसार कुल ८ स्वर्ण, ८ रजत र ८ काश्य पदकका लागि महिला र पुरुषहरुको प्रतिष्पर्धा गराइने जनाएका हुन् ।
प्रतियोगितामा एक्युरेसी ब्यक्तिगत (महिला/पुरुष), एक्युरेसी टिम (महिला/पुरुष), क्रस कन्ट्री ब्यक्तिगत (महिला/पुरुष) र क्रस कन्ट्री टिम (महिला/पुरुष)तर्फ प्रतिष्पर्धा हुनेछ । जस मध्ये एक्युरेसी टिम तर्फ महिला २, पुरुष ५ जना तथा क्रस कन्ट्री टिम महिलातर्फ ३ र पुरुषतर्फ ५ जना रहने जनाइएको छ ।


