
पोखरा स्पोर्टस । पोखरा बाहेक अन्यत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् ।
मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अन्यत्र उक्त प्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्ने चेतावनी दिएका हुन् ।

पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एकमा पर्ने भएकोले पनि उक्त प्रतियोगिता अन्यत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए । उनले भने “केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि गरेका छन् तर खेल संचालन गर्दा सुरक्षित र प्राबिधिक हिसावले पनि सहजता भएको स्थानमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
प्याराग्लाइडिङ जोखिम पूर्ण खेल भएको र कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अन्यत्र उक्त प्रतियोगिता हँुदा समयमै खेलाडीहरुको उद्धारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत अर्को समस्या हुने भएको अर्का प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल माथि, पोखरामा केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अबस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।
प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल पाहारीले स्वरेकमा ठुला–ठुला पहाड र हावाको चाप बढी हुँदा नेटवर्कमा समेत समस्या हुने उद्धारमा ७/८ घण्टा भन्दा बढी समय लाग्ने भएकोले पोखराको बिकल्पमा अन्यत्र प्याराग्लाईडिङ प्रतियोगिता हुन कठिन हुने बताए ।
प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाईडिङको उपयुक्त स्थान नहुने दाबी गरे । यदि कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यबस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनि प्रतियोगिता संचालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहने र त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालन गर्न आफुले सिफारिस नगर्ने बताए । अबको केही समयमा ३६ खेलहरु कहाँ–कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी भएको उनले जनाए ।
