“प्रदेश र केन्द्रको खेलकुद ऐन बाझिँदा कार्यान्वयनमा समस्या”–सदस्य सचिव घिसिङ

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुनुका साथै प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोर्टस डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् । “संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ । प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ । उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन । केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघलाई कठिनाई भइरहेको छ,” सदस्यसचिव घिसिङले भने,“ऐनमा जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन । राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु । उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ ।”

नियमावाली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको उनको भनाई थियो । “ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रष्ट देखियो । ऐन बनाउँदा केही मान्यता नअपनाइदा कार्यान्वयनमा जटिलता आएको हो । खेलमा मात्र होइन अन्य क्षेत्रमा पनि यस्ता समस्या आएका छन् । तथापि, मैले समाधान गर्ने बाटोतर्फ प्रक्रिया अगाडि बढाइसकेको छु,” उनले भने । ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन सकेका छैनन् । सदस्यसचिव घिसिङले संघलाई वैद्यानिकता बनाउने पक्षमा आफू लागिरहेको बताए ।

तर, त्यो भन्दा अगाडि संघले पनि ऐेनलाई पूर्णता पालना गर्नुपर्ने र यदि ऐन सम्मत निर्वाचन भएका छैनन् भने ती संघले मान्यता पनि नपाउने उनको भनाइ छ । “संघहरूले इमानदारिताका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्छ । ऐन पालना गर्दै विधान स्विकृत गराएर निर्वाचनमा जाँदा संघहरूलाई मान्यता दिनेछौं । निर्वाचनका लागि कुनै संघले समस्या भोग्नु पर्दैन,” घिसिङले उल्लेख गरे ।

नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने उनले योजना सुनाए । पहिलो संस्करणदेखि नवौंसम्मका डाटा सुरक्षित गरिने समेत उनको प्रतिबद्धता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close