
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफ्नो तयारी थालेको छ ।
संघको पोखरामा सम्पन्न बैठकले आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफ्नो तयारी सुरु गर्ने निर्णय गरेको हो । सो बारे कुरा गर्दै अध्यक्ष जगन गुरुङले प्रदेशलाई टिम च्याम्पियन बनाउने गरी जिल्ला संघ र प्रशिक्षकहरुलाई परिचालन गर्ने गरी नवौंको तयारी थाल्ने निर्णय भएको बताए । “आजको बैठक निकै उत्साहजनक थियो, हामीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउने संगै असोज ६ देखि ९ गते सम्म पोखरामा हुने तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सफल बनाउनका लागि सबैलाई आह्वान समेत गरेका छौं,” उनले भने ।
बैठक बारे जानकारी गराउँदै अध्यक्ष गुरुङले सबै जिल्लाहरुलाई खेलाडीको तथ्याङ्कहरु प्रदेश संघमा पठाउने, खेलाडीहरुको प्रशिक्षणलाई अघि बढाउने र टिम तयारीका लागि प्रक्रियाहरु अघि बढाउने निर्णय गरिएको बताए । नवौंको लागि जिल्ला छनोट प्रतियोगिताहरु भदौ १० गते भित्र सम्पन्न गरी सक्ने गरी निर्णय गरिएको उनको भनाई छ ।
हाल गण्डकी प्रदेशमा ६ जिल्लामा जिल्ला संघहरु रहेको र ६० भन्दा वढि डोजाङ तथा स्कुलमा करिव ५ हजार खेलाडीहरु तेक्वान्दो खेलमा आवद्ध रहेको अध्यक्ष गुरुङले बताए ।
यसै गरी बैठकले असोज ६ देखि ९ गते सम्म पोखरामा हुने तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपका लागि समेत विशेष छलफल गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । “यो नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता हो । हाम्र आफ्नै प्रदेशमा हुने यो अन्तर्राष्ट्रिय प्रतियोगिता सफल बनाउन हामीले सबै जिल्ला संघ र प्रदेश संघका साथीहरुलाई थप जिम्मेवारीका साथ अघि बढ्ने निर्णय गरेका छौं” उनले भने ।
