नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन टोली माछापुच्छ्रेमा

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदानको खोजि अभियान अन्तरगत टोली कास्कीको माछापुच्छ्रे गाउँपालिकासम्म पुगेको छ ।

खेलस्थल व्यबस्थापन उपसमितिका संयोजक एंव राखेपका सदस्य राजेशकुमार गुरुङले नेतृत्वको टोली खेल मैदान खोजि अभियान अन्र्तगत आइतबार माछापुच्छ्रे गाउँपालिका ४ स्थित महेन्द्र माबिको खेल मैदानको अवलोकन गरेको हो ।

अवलोकन पश्चात उक्त मैदानमा फुटवल प्रशिक्षण गराउन सकिने अबस्था रहेको संयोजक गुरुङले बताएका छन् । त्यसै गरी टोलीले सोमबार पोखरा २५ हेमजा र नेपाली सेनाको खेल मैदानहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आधारित भई आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको लागि विभिन्न खेलहरु संचालनार्थ मैदान छनौट गर्नु पूर्व अवलोकन गर्न सुरु गरिएको संयोजक गुरुङले बताए ।

यस अघि टोलीले गण्डकी प्रदेश प्रहरी प्रमुख (डिआईजि) रामदत्त जोशीसंग भेटघाट गर्दै नवौं राष्ट्रिय प्रतियोगिता सफल पार्न आवश्यक सहयोग गर्न आग्रह गरेको थियो । डिआईजी जोशीले उक्त खेलकुद प्रतियोगिता सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने वचन दिए । राखेप र सरकारले आयोजन गर्ने कुनै पनि प्रतियोगितामा राज्यको एउटा अंग भएको नाताले आफुहरुसंग भएको श्रोतसाधनलाई अधिकतम रुपमा परिचालन गर्दै शान्ति सुरक्षाको प्रबन्ध गर्ने बिषयमा आयोजक कमिटिलाई ढुक्क हुन आग्रह गरे । प्रहरी समक्ष सवारी साधनहरु कमी भएकोले तत्काल सवारी खरिद गर्न नसके पनि ३ वटा सवारी साधनहरु मर्मत गरेमा प्रयोगमा ल्याउन सकिने अबस्थामा रहेको डिआईजी जोशीको भनाई थियो ।

संयोजक गुरुङको नेतृत्वमा खेलस्थल व्यबस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण प्रसाद तिमिल्सिना, कार्यालय प्रमुख योगी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, खेलकुदकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै टोलीले शनिबार पोखराको सहारा एकेडेमीको फुटवल मैदान अवलोकन गरेको थियो । करिब ३९ बर्ष पछि पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न गण्डकी प्रदेश बासी एवं खेलकुदकर्मीहरु एक भएका छन् । उक्त प्रतियोगितामा दुई प्रदर्शन सहित ३८ खेल हुने भएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close