‘नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्छ’ – मन्त्री गहतराज

पोखरा स्पोर्टस । “नेपालले अन्तराष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नु पर्छ, १९ औं एशियाली खेलकुदको तयारीका लागि एक बर्ष छ । यो हाम्रो लागि तयारी गर्ने सुखद अवसर हो” युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ १९ औं एसियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।

चिनको होङझाओमा हुने १९ औं एसियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका खेलाडीहरुका लागि पुनर्ताजगी कार्यक्रमका अवसरमा काठमाण्डौको एक पार्टी प्यालेसमा राखेपले एक रात्री भोजको बुधबार आयोजना गरेको थियो । सो अवसरमा मन्त्री गहतराजले सुखद नतिजाका लागि अहिले विनियोजित तयारी बजेटलाई बढाउन सकिने बताउँदै सिंहदरवारले खेल नवुझेकोमा चित्त समेत दुखाए । उनले भने–“खेल एक विज्ञान भएको र खेल शिक्षामा परिवर्तन गर्दै विद्यालयस्तरबाटनै खेलकुदलाई विकास गर्नु पर्छ भने सिंहदरवारलाई पनि खेल बुझाउन आवश्यक छ ।”

नेपालमा खेल विश्वबिद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्ने तर्फ सोच अगाडी बढेको उल्लेख गर्दै मन्त्री गहतराजले खेल विकासका लागि सातै प्रदेशमा अन्तराष्ट्रिय खेल मैदान बनाउने र भएका पूर्वाधारलाई प्राथमिकताका साथ अगाडी बढाउने लक्ष्य रहेको बताए । खेलाडीको मनोबल बढाउने उद्धेश्यले पुरस्कार सम्मान बढाउने तर्फ अग्रसर रहेको बताउँदै उनले राष्ट्रबाट प्रदान गरिने पदकहरु खेलाडी र प्रशिक्षकहरुले प्राप्त गर्ने आधार तयार गरिने संगै खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार रासीको निर्धारण गरिने बताए ।

मन्त्री गहतराजले एशियन गेममा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदकलाई १३ लाख प्राप्त गर्ने कानूनत रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुदमा अहिले सम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजा तर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भिर भएर लाग्नु पर्ने बताए । मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने क्रममा हरेक बिजयहरु थकाई मार्नका मात्र नभई नयाँ उचाई लिनका लागि पनि रहेको बताउँदै उनले पुनतार्जगी कार्यक्रमले खेलाडीहरुलाई अझ खारिएर अगाडी बढाउन सक्षम हुने भन्दै परिषदले सोचेको परिणाम खेलाडीहरुले दिनेमा बिश्वस्त रहेको बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एसियन गेम्समा नेपाली खेलाडीहरुले सुन्दर परिणाम प्राप्त गर्नेमा बिस्वस्त रहेको बताए ।

नेपाली खेलाडीहरु हरेक समय सेना जस्तै तयारी अवस्थामा रहनु पर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले बताए । उनले एसियन गेम्सका लागि अझै १ बर्ष बढि बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भन्दै खेलाडी त्यसका लागि सदा तयार रहनु पर्ने बताए । खेलाडीहरुले १४ महिना नभई १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षमा लाग्नु पर्ने उनको भनाई थियो ।

एसियाली खेलकुदका लागि यो छनौटनै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनौट पार गरेर एसियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने सदस्य सचिव घिसिङले बताए । विभिन्न अन्तराष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनोट गरिने र निरन्तर प्रशिक्षण संचालन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close