भारतिय ओलम्पियन आर्चरी खेलाडी भन्छन्–“मेहनतले नै त्यहाँ पुग्यौं”

ओलम्पियन अतानु र दिपिका पोखरामा, कास्की आर्चरी र अन्नपूर्ण आर्चरीले गर्‍यो स्वागत

केशव पाठक/ पोखरा स्पोर्टस । पोखरा रंगशालास्थित आर्चरी खेल परिशर मंगलबार एक बिहानै निकै जुर्मुराएको थियो । कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लवले संयूक्त रुपमा एक विशेष कार्यक्रम गर्दै थिऐ । खेलाडी लामवद्ध थिए । कास्की आर्चरी संघको टोली कार्यक्रमको तयारीमा जुट्दै थियो । १९ औं एसियाली खेलकुदको वन्द प्रशिक्षणमा रहेका खेलाडीको टोली समेत कार्यक्रममा थियो ।

कार्यक्रम थियो मित्र राष्ट्र भारतबाट आएका दुई ओलम्पियनहरु अतानु दास, दिपिका कुमारीसहित उनीहरुका प्रशिक्षक मिम गुरुङको स्वागत । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनलाई साथ दिइरहेका थिए प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल आर्चरी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बसन्त थकाली, वरिष्ठ प्रशिक्षक किशोर कुमार गुरुङ, संघका अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी क्लवका अध्यक्ष बसन्त गौचन, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी ।

तिनैजना पाहुनाहरुलाई स्वागत गर्दै सदस्य सचिव गुरुङ दङ्ग थिए । उनले स्वागत गर्दै भने–“खेलकुदको सिमाना हुँदैन ।” मित्र राष्ट्रका ओलम्पियनहरु आफ्नो सामु पाउँदा उनले भने–“म पनि खेलकुद व्याकग्राउण्डकै हुँ । खेलाडीको पिडा के हुन्छ मैले बुझेको छु यहाँहरु जुन शिखरमा पुग्न सफल हुनु भएको छ त्यसका लागि म बधाई दिन चाहन्छु ।” उनले आर्चरी खेल नेपाली जनजातीहरुको परम्परागत खेल भएको सदियौं देखि खेलिदैं आएको बताए ।

उनीहरुलाई मायाँको चिनो वितरण सकिए लगतै छोटो कार्यक्रम सकिएको घोषणा गर्न लागेका अध्यक्ष शेरचनलाई रोक्दै सदस्य सचिव गुरुङले पाहुना ओलम्पियनहरुलाई आफ्नो खेल जिवनको सफलताको कथा भन्न आग्रह गरे । उनले उपस्थित नेपाली खेलाडीहरुलाई उनीहरुको कथाले प्रेरणा दिन सक्ने भन्दै दुवै ओलम्पियन र प्रशिक्षक गुरुङलाई आफ्ना कुरा राख्न आग्रह गरे ।

पहिला बोले अतानु दास । उनले सुरुमा नै आफ्ना भनाई राख्दै भने मेरो कथा सुनाउने हो भने लामो समय लाग्न सक्छ । अहिले धेरै समय नभए पनि छोटकरीमा राख्छु । उनी अंग्रेजीमा आफ्ना भनाई राख्दैे भने–“१४ वर्षको उमेरमा नै आर्चरी खेलमा लागे । भारत कलकत्तास्थित टाटा स्पोर्टस एकेडेमीमा म छनौटका लागि पुँगे तर ‘बो’ उठाउने वित्तिकै मलाई फालियो । मलाई छनौटबाट फालिन ३० सेकेण्ड पनि लागेन ।”

अ‍ोलम्पियन अतानुले ति दिन सम्झिदैं भने–“तर म फेरी संघर्षमा उत्रिंए जसरी म फालिएको थियो ठिक ६ महिना पछि त्यही ठाउँमा नम्वर एक हुँदै छनौट हुन सफल भएँ । त्यो दिन देखि यता आर्चरीमा आफू पछि फर्किएर हेर्न परेको छैन ।” उनले भारतिय राष्ट्रिय टिममा आफू कसरी पर्न सफल भएं लगायत ओलम्पिक सम्मका यात्राका बारे आफ्ना भनाई राखे । अतानुले दुई–दुई वटा ओलम्पिकमा भारतको प्रतिनिधित्व गरिसकेका छन् । तर ओलम्पिकमा सफलता हात लागेको छैन । उनले गत वर्ष जापानमा सम्पन्न ओलम्पिकमा सहभागिता जनाएका थिए । उनले नेपाली खेलाडीलाई भन्दै थिए–“माइन्ड सेट कायम गर्नुहोस पक्कै सफलता हात लाग्छ, म आज जे छु मेरो माइन्ड सेटकै कारणले छु तर मेरो पनि ओलम्पिक जित्ने सपना अझै छ ।”

त्यस्तै कथा थियो ओलम्पियन दिपिकाको । झारखण्डकी उनी २००७ बाट १४ वर्षको उमेरबाटै आर्चरीमा लागिन । कुनै बेला बाँसको बो बनाएर सिकेकी दिपिका आफ्ना परिवारको दुःखदायी जिवनमा समेत कसरी संघर्ष गर्दै अघि बढें भन्ने कुरा निकै मर्मस्पर्शी थियो । आर्चरीमा सानै उमेर छिरेकी उनी छनौटमा उनी फालिइन् । उनी भन्दै थिइन्–“घरको अवस्था राम्रो थिएन । खेलमा छिरे पछि बस्न, खान अनि पढ्न पाइन्छ भन्ने सुनेर त्यहाँ पुगेकी थिँए ।” सुरुवातमा नै फलिए पछि आफू धेरै रोएको बताउँदै उनले भनिन–“म धेरै मुस्किलले एकेडेमी छिंरें । ठिक ६ महिना पछि मैले भारतिय सेनाद्वारा आयोजित एक खेलमा स्वर्ण पदक जिते ।”

सन २००८ मा उनी भारतिय आर्चरी टिममा उनी छिरिन् । कुनै बेला टाटा स्पोर्टस एकेडेमीबाट फालिएकी उनी एक वर्षमा नै गरेको प्रदर्शन पछि टाटाले एकेडेमीमा बोलाएको उनी हाँस्दै सुनाइन् । तिन–तिन पटक ओलम्पिक गेम्समा सहभागिता जनाएकी उनी अहिले पनि आर्चरी मानै व्यस्त छिन् । उनी भन्दै थिइन–“एक पटकको हारले केही फरक पर्दैन यहाँहरुले आफूले आफूलाई अपग्रेड गर्नुहोस सफलता यहाँले पक्कै पाउनु हुनेछ ।” दिपिका आर्चरीकी वर्ल्ड नं १ र्‍याकिङ समेत हुन् ।

ओलम्पियन अतानु र दिपिका दुबै आर्चरीका खेलाडी मात्रै होइनन् । उनीहरुको बैबाहिक लगन गाँठो समेत कसिएको छ । आर्चरीले संगै डोर्‍याएको उनीहरुको जिवनका भोगाईहरु एक अर्का संग मेल पनि खान्छन् ।

ओलम्पियन अतानु र दिपिकालाई पोखरा सम्म ल्याइ पुर्‍याउने व्यक्ति हुन् भारतिय राष्ट्रिय आर्चरी टिमका प्रशिक्षक मिम गुरुङ । पोखरा बगर १ सिमपानी निवासी मिमको कथा पनि उस्तै छ । भारतिय आर्चरी टिमलाई ओलम्पिक लगायत विश्वभरको यात्रा गराएका उनले नेपालमा नै आएर प्रशिक्षण दिने ठूलो आकांक्षा राख्छन् । हरेक खेलाडीको सुख दुखको यात्राको सारथी जस्तै रहेका भारतिय सेनाबाट अवकास प्राप्त मिम कुनै बेला खेलाडीको रुपमा भारतिय आर्चरी टिमको एक महत्वपूर्ण हिस्सा थिए । उनले खेल छोडे संगै भारतिय आर्चरी टिमलाई प्रशिक्षकको भूमिकामा रहेर निभाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close