प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु, स्याङजाकी जानकीले जितिन् दोहोरो स्वर्ण

पोखरा स्पोर्टस । पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र/छात्रा रानङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।

छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।

यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पुरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।

यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पुरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जित्न सफल भएका छन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पुरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पुरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पुरा गरी कास्य पदकमा चित्त बुझाए ।

यस्तै बिहिबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पुरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फनै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।

छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पुरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पुरा गरी कास्य पदक हात पारिन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् । पोखरा पर्यटकिय संगै खेलकुदको समेत अपार सम्भावना भएको हुनाले यहाँका खेल मैदान संगै रंगशालाहरुको संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै भने–“राष्ट्रियताको जर्गेना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकास संगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सवैको ध्यान जान आवश्यक छ ।”

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेश शिक्षा विकास निर्देशक अम्विका प्रसाद आचार्य, यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललगायतले विद्यालय लक्षित खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा एक विद्यालय एक शिक्षक हुनुपर्ने कुरालाई राज्यले विशेष रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद विकासका लागि कम्तिमा राज्यको कुल बजेटको २ प्रतिशत अनिवार्य विनियोजन भएमा खेलकुदले उचाई प्राप्त गर्ने बताए ।

प्रतियोगिता सुरु हुनु अघि भएको मार्चपासमा कास्की जिल्ला प्रथम भएको छ भने गोरखा जिल्ला दोस्रो र नवलपुरले तेस्रो स्थान हात पारेको छ । बिहिबार सम्पन्न विजेता खेलाडीहरुलाई प्रदेश सभाका सभामुख अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, नेपाली सेना मध्य कमाण्डपति बाबुराम श्रेष्ठ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

यसै गरी प्रतियोगिता अन्तर्गत नै सम्पन्न भलिबल छात्रतर्फ बागलुङले पर्वतको सामना गर्नेछ भने कास्कीले स्याङजा संग भिड्ने आयोजकले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close