
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा रमेश राना मनोनयन भएका छन् ।
संघको बुधबार पोखरामा सम्पन्न बैठकले रानालाई उपाध्यक्षमा मनोनयन गरेको हो । उपाध्यक्षमा मनोनय भएका राना स्याङजाका हुन् ।सम्पन्न बैठक बारे जानकारी दिंदै संघका अध्यक्ष नविन गुुरुङले संघको रिक्त उपाध्यक्ष पदमा रानालाई मनोनयन गरेको बताए । उनले भने–“भलिबल खेलको विकासका लागि उनले आफ्नो समय संगै योगदान दिन सक्छन भन्ने लागेर नै हामीले उनलाई उपाध्यक्षमा मनोनयन गरेका हौं ।”
बैठकमा उपाध्यक्षमा मनोनयन भएका रानाले अध्यक्ष गुरुङलाई संघको आर्थिक अवस्था सबल बनाउन नगद ५० हजार समेत सहयोग गरेका छन् ।
यस्तै बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रशिक्षक, खेलाडी र रेफ्रिहरुको डाटा संकलनका लागि सबै जिल्लामा पत्रचार गर्ने निर्णय गरेको महासचिव तहल सिंह थापा मगरले जानकारी दिए । गण्डकी प्रदेश भलिबल संघले प्रशिक्षक, खेलाडी र रेफ्रिहरुको स्तर (लेभल) समेत उल्लेख गरी जानकारी गराउन सबै संघहरुलाई पत्रचार गर्न निर्णय गरिएको बैठक पछि उनले बताए । उनले भने–“यो हाम्रो महत्वपूर्ण निर्णय हो र यसले प्रदेश भरी खेलाडी, प्रशिक्षक र रेफ्रिहरुको लेभल समेत जानकारी हुने र आगामी दिनमा कार्यक्रमहरु अघि बढाउँदा सहजता समेत हुनेछ ।”
गण्डकी प्रदेश भलिबल संघको प्रदेश अधिवेशन गत असार १० गते सम्पन्न भएको थियो ।
