
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको गण्डकी प्रदेशस्तरिय खुल्ला क्यानोइङ प्रतियोगितामा गोरखाका सुरेन्द्र चेपाङ र खोटाङकी सुधा राई च्याम्पियन भएका छन् ।

पोखराको फेवातालमा आयोजित उक्त प्रतियोगितामा पुरुषतर्फ सुरेन्द्रले ३ हजार मिटर क्यानोइङमा २७ जना प्रतिष्पर्धीलाई पछि पार्दै च्याम्पियन भएका हुन् । उनले च्याम्पियन भए संगै नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे । पुरुषतर्फ नै चितवनका विजय गुरुङ र कास्कीका विकास श्रेष्ठ क्रमश दोस्रो र तेश्रो भए । दोस्रो हुने विजयले नगद १५ हजार र तेश्रो हुने विकासले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यता महिलातर्फ महिलातर्फको उपाधि जितेकी सुधाले नगद २० हजार प्राप्त गरिन् भने कास्कीका उषा गुरुङ र विपना गुरुङले दोस्रो र तेस्रो स्थान हात पारे । महिलातर्फको क्यानोइङ प्रतिष्पर्धामा ९ जना खेलाडी सहभागि थिए । उनीहरुले क्रमश नगद १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
त्यसै गरी परम्परागत डुङ्गा दौड टिम गेम पुरुषतर्फ फेवातालको स्विमिङघाटले पहिलो र दोस्रो स्थान हात पार्दा प्याडल नेपालले तेस्रो स्थान हात पार्न सफल भयो । त्यसै गरी महिलातर्फको प्रतिष्पर्धामा स्विमिङ घाट पहिलो हुँदा ताल पारी समुहले दोस्रो र वेगनास डुङ्गा व्यवसायी समितिले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा पुरुष र महिला टिम गेममा पहिलो, दोस्रो र तेश्रो हुनेले क्रमश जनही नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । परम्परागत डुङ्गा दौड टिमतर्फ तिन–तिन जनाले प्रतिष्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा पुरुष टिमतर्फ १५ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा फेवा डुङा व्यवसायी समिति, वेगानस डुङ्गा व्यवसायी समिति र रुपा डुङ्गा व्यवसायी समितीले सहभागिता जनाएका थिए ।
विजयी हुने प्रतियोगि तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, नेपाल र्याफटिङ तथा क्यानोइङ संघका महासचिव सुदिपराज गौतम, प्रतियोगिताका संयोजक बसन्तराज दवाडी, प्रतियोगिताका टेक्निकल डाइरेक्टर तथा ेपाल र्याफटिङ तथा क्यानोइङ संघका केन्द्रिय सदस्य निम थापा मगर, संघका प्रदेश अध्यक्ष विरेन्द्र लामा, परिषदका कार्यालउ प्रमुख तोपलाल भुसालले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दे परिषदका उपाध्यक्ष गुरुङले प्रदेश खेलकुदले सहासिक खेलकुदको रुपमा पहिचान बोकेको क्यानोइङ खेलको प्रतियोगिता आयोजना गरेर नयाँ कार्यको सुरुवात गरेको बताउँदै यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत महत्वपूर्ण हुने बताए ।
पोखरालाई सहासिक पर्यटकिय खेलकुद गन्तव्य बनाउनुका साथै पोखरामा भएका तालहरु खेलकुदको लागि समेत अधिकतम रुपमा प्रयोग गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव गुरुङले बताए । उनले भने–“पोखरा भनेको तालै तालको शहर हो, यसलाई खेलकुदको विकासमा भरपुर प्रयोग गर्नु पर्छ भने अर्कोतर्फ विदेशीहरुको वसाई लम्व्याउन पनि यस्ता गतिविधिले सहयोग पुग्छ ।” पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा क्यानोइङ खेल समावशे गरिएकोले पनि यो प्रतियोगिताले नवौं सफल बनाउन भूमिका खेल्ने उनले उल्लेख गरे ।
प्रतियोगिता सफल बनाउन नेपाल र्याफटिङ तथा क्यानोइङ संघ र फेवा डुङा व्यवसायी समितिले सहकार्य गरेका थिए ।
