
पोखरा स्पोर्टस । पाकिस्तानमा आयोजना हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुने सम्भावना बढेको छ ।
पाकिस्तानमा बढ्दो राजनितिक सरगर्मी र कोभिड १९ का कारण १४ औै साग खेलकुद बारे मौन बसेको आयोजक राष्ट्र पाकिस्तान सोमबार सम्पन्न साउथ एसियन ओलम्पिक काउन्सिलको बैठक पछि सम्भावना बढेको हो । सो बैठक बारे जानकारी दिंदै बैठकमा सहभागि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अबको १० दिन भित्रै पाकिस्तानले साग आयोजना मिति घोषणा गर्ने गरी बैठकमा प्रतिवद्धता जनाएको बताए । उनले भने–“गत वर्षको सेप्टेम्वर पछि हाम्रो कुनै बैठक बस्न सकेको थिएन । तर सबै अन्यौलतालाई तोड्दै पाकिस्तान सागको तयारीका लागि अघि बढेको छ ।”

१४ औं सागमा समावेश हुने खेलका बारेमा समेत छलफल अघि बढाइएको महासचिव श्रेष्ठले जानकारी दिंदै पाकिस्तानले केही खेलहरु रग्वी, जिम्न्याष्टिक र बेसबलको प्रस्ताव गरेको बताए । अन्तर्राष्ट्रिय फुटबलको छाता संस्था फिफाले पाकिस्तान फुटबल महासंघलाई प्रतिवन्ध लगाएको छ भने पाकिस्तान ओलम्पिक एसोसियसनले एथलेटिक्स, जुडो र साइक्लिङ संघलाई डोपिङका कारण आवद्धता रद्ध गरेकोले यि खेलहरु के हुने भन्ने बारेमा समेत छलफल भएको उनको भनाई थियो । तर ओलम्पिक एसोसियसनले ति खेलहरु छुट्टै कमिटि गठन गरेर अघि बढ्ने समेत जनाएको छ ।
पाकिस्तानले प्रस्ताव गरेका रग्वी, जिम्न्याष्टिक र बेसबल खेलका लागि दक्षिण एसियाली ओलम्पिक राष्ट्रहरुलाई प्रस्ताव गरी पठाउने निधो समेत गरेको छ । यदि पाकिस्तानमा साइक्लिङ खेल आयोजना भयो भने रोड वाइक मात्र सम्भव रहेको उनले बैठक पछि पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पाकिस्तानमा केही दिनमा नै नयाँ निर्वाचनको मिति घोषणा हुनासाथ १० दिन भित्रै पाकिस्तान ओलम्पिक एसोसियसनले १४ औं सागको मिति प्रस्ताव गर्ने तयारी समेत गर्ने गरी अर्को बैठकमा प्रस्ताव ल्याउने भएको महासचिव श्रेष्ठले जानकारी दिए । १९ औं एसियाली खेलकुद अगावै नयाँ मिति घोषणा गर्न सुझाव दिएको समेत उनले बताए । चिनमा हुने एसियाली खेलकुद यहि वर्षको सेप्टेम्वर–अक्टोवरमा हुने गरी छलफल अघि बढेको हुनाले पनि १४ औं साग त्यस भन्दा अगावै गरी मिति घोषणा गर्न आफूले सुझाव दिएको उनले बताए ।
बैठकले ९ महिना अघि सम्पन्न साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकको निर्णयहरु समेत पारित गरेको छ ।
उक्त बैठकमा साउथ एसियन ओलम्पिक काउन्सिलका सवै सदस्यहरु र नेपालको तर्फबाट एनओसीका महासचिव श्रेष्ठ र एनओसीका उपाध्यक्ष तथा कार्यकारी उपाध्यक्ष चतुरानन्द वैद्यको सहभागिता रहेको थियो ।
