
पोखरा स्पोर्टस । हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक हेमजा युनाइटेडले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
रंगशालाभन्दा बाहिर ठुलो प्रतियोगिता हुने सन्देश दियो : मेयर आचार्य
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन पश्चात बोल्दै हेमजामा खेल पुर्वाधार विकासका लागि बसेर छलफल गर्ने बताए । उनले हेमजाले पोखरा रगंशाला भन्दा बाहिरपनि ठुला प्रतियोगिता सम्भव भएको सन्देश शुभकामना गोल्डकपले दिएको बताए । उनले अब गोल्डकपलाई निरन्तरता दिन समेत आग्रह गरे । प्रतियोगिता एक पटक गरेर हराउँने नभई यसलाई निरन्तरता दिन अनुरोध गर्दै महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे
घरेलु मैदानमा खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै अर्को गोल कमल थापा मगरले गरे । विरगंजका लागि कृपा चौधरीले गोल गरे ।
सुरुवात देखीनै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेमजाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर खेर गयो । कमलले नै गरेको करिब ८० यार्ड टाढाबाट गरेको शसक्त प्रहारमा विरगंजका गोलरक्षक तथा कप्तान दिलमणी चौधरी बाधक बने लगत्तै विरगंजका विवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दिप कार्कीले बचाउ गरे । ७ औं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा विरगंजका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए ।
खेलको ११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त ग¥यो । हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा विरगंजका सृर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले विरगंजका कृपा चौधरीलाई डि एरिया नजिकै लडाएपछि विरगंजले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८ औं मिनेटमा हेमजाका कप्तान मनबहादुर तामाङको क्रसपासमा कमलले उत्कृष्ट हेडर गोलरक्षक दिलमणीले बचाउ गरे ।
२९ औं मिनेटमा विरगंजका विवेक अफसाइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट क्रसपास गरेपनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गएको हो । खेलको ३६ औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार विरगंजका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि विरगंज निकै दबाबमा परेको थियो । पहिलो हाफमा २ गोलले पछि परेको विरगंजको दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो त्यतिन्जेल निकै ढिला भइसकेको थियो । हेमजाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा विरगंज समस्यामा परेको थियो । खेलको ४८ औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफदी म्याच समेत घोषित भए ।
विरगंजले खेल सकिन केहि मिनेटमात्रै बाकिँ रहँदा ३ वटा अवसर खेर फालेको थियो । उक्त अवसर खेरजादाँ जितबाट बञ्चित हुँदै घर फर्किएको छ । निर्धारित समयको पाँच मिनेट बाकिँ रहँदा विरगंजका कृपा चौधरीको लगातारको ३ अवसर खेर गयो । उनको चौथो प्रयास भने गोलमा परिणत भयो । उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।
८ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता रहने छ । हेमजा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेता समेत हो ।
।
