रग्बी टोली बंगलादेश जाँदै, सदस्य सचिव घिसिङले गरे विदाई

पोखरा स्पोर्टस । बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा भाग लिन नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।

यहि जेठ ७ र ८ गते हुने सिरिजमा सहभागी हुन २५ सदस्यिय नेपाली टोली बंगलादेश जान लागेको हो । बंगलादेश जाने टोलीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश बासु, सञ्जीव कुँवर, रमितबहादुर मल, यदु अधिकारी, अमरसिंह श्रेष्ठ, सुमन चौलागाईं, पूजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल र हुतराज प्रधान छन् ।

यसै गरी टिमको प्रशिक्षकमा टंकराज गिरी, म्यानेजरमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।

यसै सिरिजबाट नेपालले पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको हो । सेभेनमा नेपालले सात वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आए पनि फिफ्टिनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले घरेलु टोली बंगलादेशसँग ढाकास्थित आर्मी स्टेडियममा सेभेन ‘ए’ का दुई खेल र फिफ्टिन ‘ए’ साइडका एक खेल खेल्नेछ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरेलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले पहिलो पटक फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेकोमा खेलाडीलाई बधाई दिँदै सफलताका लागि शुभकामना दिए । सदस्य–सचिव घिसिङले नेपालमा अन्तर्राष्ट्रिय रग्बी सिरिज गर्न राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको प्रतिक्रिया दिए ।

त्यसै अवसरमा संघले राष्ट्रिय टोलीको जर्सी प्रयोजक फिटवेल स्पोर्ट्स वेयर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको छ । त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close