
पोखरा स्पोर्टस । अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराएका हुन् । महिला सेमिफाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई ११–२, ११–९ र १४–१२ तथा कृष्णाले अनुभवी भावना सुनुवारलाई ४–११, ११–३, ११–३, ११–६ ले पराजित गरे । यसैगरी, भेटान्स (५०वर्ष माथि)को फाइनल विनोद शाक्य र प्रवीण कंसाकारबीच हुनेछ । प्रतियोगता शनिबार सम्पन्न हुनेछ ।
ओलम्पिक दिवसमा वृक्षारोपण

यसैबीच ओलम्पिक दिवसकै अवसरमा काठमाडौं जिल्ला सुटिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा शुक्रबार वृक्षारोपण र सरसफाइ गरेको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उद्घाटन गरे ।
कुमार दर्शन स्मृति प्रतिष्ठानले कार्यक्रमका लागि टिसर्ट, ब्यानर र खानाको प्रायोजन गरेको प्रतिष्ठानका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक राजु दर्शनले जनाएका छन् ।
