
पोखरा स्पोर्टस । एथलेटिक्सका अग्रज राष्ट्रिय खेलाडी, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका तथा कास्की जिल्ला तेक्वान्दो संघ सल्लाहकार योगेन्द्र बहादुर बस्नेतको निधन भएको छ ।
स्वास्थ्यमा समस्या आए पछि काठमाण्डौमा उपचारर्थ बस्नेतको ७४ वर्षको उमेरमा निधन भएको हो । जन्मथलो शुक्लागण्डकी नगरपालिका वडा नं ३ बनकिया उदिनढुङ्गा घर भई पोखरा १० अम्वरसिंह चोक निवासी बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रिय शिक्षा निर्देशकको रुपमा समेत सेवा गरेका थिए ।
वि.सं २०१८ मा एथलेटिक्स खेलमा प्रवेश गरेका बस्नेत छैटौं एसियन गेम्सका लागि समेत बन्द प्रशिक्षण रहेको उनका सहकर्मी अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले बताए । उनको निधनमा गहिरो दुःख व्यक्त गर्दै रानाभाटले बस्नेत ४००, ८०० र १५०० मिटरको उत्कृष्ट खेलाडी रहेको बताए । उनले स्मरण गर्दै भने–“हामीले ४०० मिटर रिलेमा तत्कालिन गण्डकी अञ्चलबाट लगातार छ पटक च्याम्पियन थियौं, त्यसैले पनि बस्नेत सहितको हाम्रो टिम निकै उत्कृष्ट रह्यो ।”
स्व.बस्नेतको दुई श्रीमती, २ छोरा र दुई छोरी रहेका छन् । उनको आज (विहिबार) अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।
उनको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गर्दै गण्डकी प्रदेशको खेलकुदले एक सक्रिय अभिभावक गुमाएको जनाएका छन् ।
