
पोखरा स्पोर्टस । नेपालमा नै पहिलो पटक सेल्टर नेपालले एसियन फुटबल कन्फिडेरेशन (ए.एफ.सी) र अखिल नेपाल फुटबल संघ (एन्फा)को संयुक्त आयोजनामा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीहरूका लागि ‘प्रिजन फुटबल, रिह्याविलिटेसन थ्रु फुटबल’ (Prison Football, Rehabilitation Through Football) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संस्थाले एक प्रेश विज्ञप्तीमार्फत उक्त कुरा अवगत गराएको हो । संस्थाकी अध्यक्ष खुश्वु ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“एएफसी र एन्फासँगको सहकार्य तथा सहयोगमा जेलभित्र रहेका कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्य अनुरूप खेलाडी, प्रशिक्षक तथा रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउँदैछौं ।”
उक्त प्रशिक्षण कार्यक्रम आगामी जुन ५ देखि सुरु हुने र एक वर्षभित्र दुई चरणमा सञ्चालन हुने संस्थाले जनाएको छ । कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम रहेको संस्थाले उल्लेख गरेको छ । पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने लक्ष्य संस्थाले लिएको छ ।
कार्यक्रमबाट उत्पादित प्रशिक्षकलाई डि लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ (फोर) एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गर्ने संस्थाले जनाएको छ । दोस्रो चरणको प्रशिक्षण कार्यक्रम भने डिसेम्बर १ देखि आगामी वर्षको मे मा अन्त्य हुने संस्थाले विज्ञप्तीमा उल्लेख गरेको छ ।
कैदीबन्दीले जेल सजाय भुक्तान गरेपछि पुनः गलत बाटो नजाउन र उनीहरूमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्य पनि उक्त कार्यक्रमको रहेको संस्थाले जनाएको छ । साथै कैदीबन्दीले जेल सजाय काटेर बाहिर आइसकेपछि उनीहरूलाई रोजगारीको माध्यम पनि सिर्जना गर्ने उद्देश्य समेत रहेको संस्थाको भनाई छ ।
संस्थाले यस अिघ पछिल्ला पाँच वर्ष सडक बालबालिकारूलाई लक्षित गरेर खेलकुदका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने सडक बालिकालाई प्रशिक्षण दिई रसियामा सम्पन्न विश्वकपमा पनि सहभागिताको अवसर समेत दिएको थियो । यसै गरी संस्थाले असहायका लागि अन्य खेलकुद गतिविधि पनि हामीले सञ्चालन गरिरहेको छ ।

