
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अमेरिकाबाट हालै मञ्चको आजिवन सदस्यता प्राप्त गरेका सदस्यहरुलाई स्वागत गरेको छ ।

आफ्ना आजिवन सदस्यता विस्तार गर्ने क्रममा मञ्चले हालै अमेरिकमा छरिएर रहेका नेपालीहरुलाई सदस्यता वितरण गरेको थियो । अमेरिकामा छरिएर रहेका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु तथा खेलप्रेमीहरुलाई सदस्यता वितरण गर्न मञ्चका आजिवन सदस्य तथा समाजसेवी सोम गुरुङले पहल गरेका थिए ।
जुम मार्फत भएको स्वागत कार्यक्रममा सहभागी आजिवन सदस्यहरुले पोखरा म्याराथनले विदेशमा रहेका नेपालीहरुलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको तथा आत्मीयता बढाएको भन्दै म्याराथनले नेपाली खेलकुदको विकासमा समेत इट्टा थप्ने कार्य गरेको बताएका छन् । ‘मञ्चको आजिवन सदस्य हुन पाउनु हाम्रा लागि खुसी संगै गौरवको विषय हो । हाम्रो भावना पोखरा म्याराथन संग जोडिएको छ । हामी पोखरा म्यारानलाई सफल बनाउन आफ्नो ठाउँबाट सहयोग गर्न तयार छौं,’ सहभागीहरुले भने । पोखरा म्याराथनले अन्तर्राष्ट्रिय रुपमा पाइरहेको चर्चाका विषयमा धारणाहरु अघि सार्दै सहभागि आजिवन सदस्यहरुले पोखरा म्याराथनमार्फत आफ्ना भावी सन्ततीहरुलाई समेत जोड्न पहल गर्ने जनाए ।
सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले विदेशमा भएका सन्ततीलाई जोड्न पोखरा म्याराथनले पुलको काम गर्ने बताए । उनले खेलकुदले सबैलाई जोड्न महत्वपूर्ण माध्यम हुन सक्ने कुरामा जोड दिंदै भने–‘विदेशमा रहेका नेपालीहरुलाई आफ्नो देशप्रतिको मायाँ बढाउन पोखरा म्याराथनले सहयोगी भूमिका खेल्नेछ ।’
मञ्चका आजिवन सदस्य तथा समाजसेवी सोम गुरुङले पोखरालाई खेलकुदमार्फत विश्वमा चिनाउन र अमेरिकामा रहेका नेपाली दाजुभाईको सहयोगमा नेपालको खेलकुदको विकासका लागि मञ्च मार्फत अभियान अघि बढाउने गरी कार्यक्रमहरु तय गरिने उल्लेख गरे । उनले भने–‘हामी मञ्चमार्फत अमेरिकामा छरिएर रहेका नेपालीहरुलाई एके ठाउँमा ल्याई मातृभूमीको खेलकुदको विकासका लागि अभियान अघि बढाउछौं ।”
मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले अमेरिकाबाट एकै पटकमा ३४ जना आजिवन सदस्यहरु हुनु मञ्चका लागि खुसीको कुरा रहेको बताउँदै यसले मञ्चलाई निकै उर्जा थपेको बताए । आफ्नो कर्मथलोबाट जन्म थलोलाई खेलकुद विकासका लागि जोड्न गरिएको प्रयासका लागि उनले आभार व्यक्त गर्दै १७ औं संस्करणको पोखरा म्याराथनमा सहभागिताका लागि उनले सबैलाई निमन्त्रणा समेत दिए ।
कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष एवम प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कोषाध्यक्ष महेश पौडेलको समेत सहभागिता रहेको थियो ।
