
पोखरा स्पोर्टस । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा फहराइएको छ ।
उक्त झण्डा हिमाल आरोही नरेन्द्र शाही (नरेन ठकुरी)ले फहराएका हुन् । यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको हस्ताक्षर समेत रहेको झण्डा नरेन्द्रले गत मे १२ (बैशाख २८गते) फहराएका हुन् । लमजुङ राइनाश नगरपालिका वडा नं २ निवासी नरेन्द्रले तेश्रो पटक एक अमेरिकी पर्वतारोहीका साथ सफल आरोहण गरेको बताए । ३९ वर्षिय नरेन्द्रले भने–“मैले तेश्रो पटक हिमाल आरोहण गरें र त्यही सफल आरोहणमा मैले पहिलो पटक गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको झण्डा फहराएको छु ।”
गण्डकी प्रदेशकै एक नागरिक हुनुको नाताले पनि आफू जस्तै युवाहरुको नेतृत्व गर्ने मन्त्रालयको झण्डा फहराउन पाउनु आफ्ना लागि खुसी र गौरवको विषय रहेको बताउँदै यो आरोहणका लागि हौसला दिने मन्त्री गुरुङ सहित सबैलाई नरेन्द्रले आभार समेत प्रकट गरेका छन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसियसनको टेक्निकल डाइरेक्टर संगै गण्डकी अल्पाइनको संस्थापक अध्यक्ष समेत रहेका उनले गत वर्ष समेत गण्डकी प्रदेश सरकारको लोगो अंकित झण्डा सगरमाथामा फहराएको बताए । “त्यती बेला प्रदेशको मुख्य मन्त्री पृथ्वी सुव्वा हुनुहुन्थयो, उहाँले मलाई ठूलो हौसलाका साथ प्रदेशको झण्डा सगरमाथामा फहराउन पठाउनु भएको थियो”, उनले भने ।
सगरमाथाको चुचुरोमा फहराइएको यूवा तथा खेलकुद मन्त्रालयको झण्डा अर्को साता पोखरा आएर मन्त्री गुरुङलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्ने उनले जानकारी दिए ।
