
पोखरा स्पोर्टस । नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको १६औं धर्मश्री प्रतियोगितामा धाधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् ।
शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल ब्यायमले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित ब्यवहार भएको बताएका हुन् । ‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो ।’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने ।
आयोजकले सधै खेलाडीलाई अपहेलित गरेको र त्यसैकारण आफूहरु मुख खोल्न बाध्य भएको खेलाडी सागर विकले बताएका छन् । ‘‘आयोजकबाट हामी सधै अपहेलित हुन्छौ । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ विकले पत्रकार सम्मेलन गर्नुको उद्धेश्य बताए । सागर वेलायतबाट सहभागी हुन नेपाल आएका थिए ।
पत्रकार सम्मेलनमा गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागीता थियो ।
महिला सहभागी खेलाडी सनमले प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सधै अपहेलित हुनु परेको बताइन् । ‘मैले बारम्बार आयोजकसग बुझ्ने प्रयास गरे । तर हामीले प्रतिस्पर्धामा लगाउने पोशाक समेत कुन भन्ने थाहा पाउन सकेनौं ।’ सनमले आरोप लगाइन् ।
यस्तै सहभागी प्रतिस्पर्धीले उपाधि दावेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएको समेत आरोप लगाए ।
शनिबार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे । धिमाल दोस्रो हुदा कृष्ण बहादुर सूर्यवंशी तेस्रो भए । दुबैले क्रमशः ५ लाख र २ लाख पाए ।
यस्तै धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी दुबैले दुई लाख प्राप्त गरे ।
