
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई कर्णाली प्रदेश सरकारले २ लाख दिने घोषणा गरेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले पोखरा स्पोर्टसलाई उक्त जानकारी दिएका हुन् । प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहन स्वरूप पुरुस्कृत गर्ने संगै रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख पुरस्कार दिने भएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
पोखरामा आगामी जेठ २२ देखि २८ गते सम्म हुने प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा आफ्नो सहभागिता गर्ने भएको छ । यस अघि २६ खेलमा सहभागिता गर्ने भनिएकोमा हक्की र शुटिङ थप गरिएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
सदस्य सचिव सन्ज्यालका अनुसार अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरू छनौटको प्रक्रिया चलिरहेको र छनोट भएका खेलाडीहरूलाई आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने तयारी भएको छ । खेलाडीहरूको बन्द प्रशिक्षणको लागि भन्दै कर्णाली प्रदेश सरकारले १ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ ।
