राष्ट्रिय खेलकुद : प्रदेश खेलकुद द्वारा खेलकुद संघहरु संग छलफल

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलकुद संघहरु संग प्रारम्भिक छलफल सुरु गरेको छ ।

ग्ण्डकी प्रदेशको राजधानी पोखरामा आगामी २२ देखि २८ गते सम्म आयोजना हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’ का लागि परिषदले बिहिबार कास्कीका खेलकुद संघ र प्रदेश खेलकुद संघका पदाधिकारीहरु विच एक छलफल कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक्ता रहने कुरामा जोड् दिएका छन् ।

संघका पदाधिकारीहरुलाई सम्वोधन गर्दै मन्त्री गुरुङले प्रतियोगिताका लागि आवश्यक बजेट जुटाउने आफ्नो काम भए पनि प्रतियोगितामा पदक हासिल गर्न र खेलाडीलाई सक्षम बनाउन काम भनेको संघ र प्रशिक्षकहरुको रहेको उल्लेख गरे । उनले जोड दिंदै भने–“हाम्रो हाम भनेको बजेटको व्यवस्थापन र अनुगमन गर्ने हो । खेलाडीले पदक कसरी ल्याउन सक्छ ? खेलाडीहरुको समस्या के छ त्यो हेर्ने काम संघ र प्रशिक्षकहरुको हो । तपाईहरुलाई के कुरामा सहयोग चाहिन्छ हामीलाई भन्नुहोस ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन सबै एक जुट हुनुपर्ने कुरा औंल्याए । उनले यो प्रदेशको गौरवको कार्यक्रम भएकोले सबै खेलकुद संघहरु उत्तिकै जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरे ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद निकै चुनौतीपूर्ण अवस्थामा आयोजना हुन गइरहेको बताए । उनले आयोजनाका हिसावले समय छोटो भएको बताउँदै तोकिएको समयमा प्रतियोगितालाई सफल बनाउने दायित्व सबैको काँधमा आएको बताए । प्रतियोगिताको तयारी संगै खेलाडीहरुको नाम दर्ता यहि बैशाख २६ गते सम्म गरिसक्न सबै जिल्लालाई पत्रचार गरिएको र सोही अनुसार तयारीमा जुट्न खेलकुद संघहरुलाई आग्रह गरे ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३० दिन बाँकी छँदा खेलाडी छनोटका लागि प्रदेश खेलकुद परिषदले ५ करोड २० लाखको अनुमानित खर्च विवरण प्रदेश सरकारलाई प्रस्ताव गरेको छ । प्रदेश खेलकुद परिषदले नवौंमा समावेश ३८ खेलमा सहभागिता जनाउँदै छ । प्रतियोगितामा प्रदेशबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक हजार भन्दा वढीको सहभागिता हुनेछ ।

कार्यक्रममा हालै निर्वाचित कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जित र एन्फा फुटबल प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङलाई सम्मान गरिएको थियो । उनीहरुलाई मन्त्री राजिव गुरुङ सहित, उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारा मायाँ थापा मगर, सदस्य योगेन्द्र शेरचन, सदस्य योगेन्द्र गुरु लगायतले खादा लगायर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close