नेपालमा पहिलो पटक हुँदै विश्वकै कठिन ट्राइयाथलन, तयारी पुरा, १७ देशका एथलिट पोखरामा

केशव पाठक/पोखरा स्पोर्टस । नेपालमा पहिलो पटक विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने उक्त प्रतियोगिता यहि मे ७ (बैशाख २४) हुने भए संगै आयोजकले तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा सहभागिता जनाउन १७ देशका एथलिट सहित उनीहरुका एक–एक जना सहयोगी सहित पोखरा आइपुगेको ‘हिमालयन एक्सट्राई’का आयोजक तथा को रेस डाइरेक्टर रिक्की योन्जनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएका छन् ।

यसरी आयोजना हुँनेछ प्रतियोगिता
प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवतालमा ३.८ किमी पोडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हो । प्रतियोगिता मे ७ का दिन विहानै ४ बजे फेवातालमा ३.८ किलोमिटर पौडीबाट शुरुवात हुनेछ । पौडी पछि लगतै प्रतियोगीहरुको साइक्लिङ दौड शुरु हुनेछ । खेलाडीहरु साइकलबाट पोखरा हुँदै बागलुङ कलिकास्थान मन्दिर हुँदै फर्किएर पुनः ह्याङजाको मिलन चोक हुँदै कास्की लुम्रे माछापुच्छ्रे पुग्नेछन् भने लुम्रेबाट दौड सुरु हुनेछ । कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुग्नेछन् । उक्त प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुने छ । प्रतियोगिता १४ घन्टामा सक्ने अनुमान आयोजकले गरेको छ ।

दुई वर्ष अघि आयोजना हुने भनिएको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण स्थगित हुन पुगेको थियो । उक्त प्रतियोगितामा नेपालका तर्फबाट सन्तोष राई र सोनी गुरुङको सहभागिता रहने योन्जनले जानकारी दिएका छन् । शसस्त्र प्रहरीमा कार्यरत सोनी यो प्रतियोगिताको व्राण्ड एम्वासडर समेत हुन् भने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र आठौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता समेत हुन् । प्रतियोगितामा सहभागिता जनाउन सन्तोष युकेबाट पोखरा आएका हुन् । उनी पोखरेली मञ्चको आयोजनामा हुने नेपाल रन युके र धरान रनका संस्थापक समेत हुन् ।

उक्त प्रतियोगितामा १७ विभिन्न देशका एथलिटहरुको सहभागिता रहेको आयोजित पत्रकार सम्मेलनमा को-रेस डाइरेक्टर योन्जनले बताए । उनीहरु सहित प्रत्येक एथलिट संग एक–एक जना सहयोगी समेत पोखरा आएका छन् । सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

यो प्रतियोगिताका लागि ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’का सिइओ स्ट्रेवाट मेकिन्स समेत पोखरा आएका छन् । उनले पोखरा यो प्रतियागिता आयोजनाका लागि विश्वकै उत्कृष्ट स्थल भएको बताए ।

प्रतियोगिताका लागि विगत ५ महिना देखि निरन्तर रुपमा अभ्यासमा जुटेकी सोनीले आफूले सोचेको सपना पुरा गर्नेतर्फ नै लागि परेको बताइन । “यो हामीले खेलिरहेको भन्दा निकै कठिन र जोखिम पूर्ण प्रतियोगिता हो” उनी भन्छिन–“नेपाली खेलाडीहरु कठिन संघर्षका विच पनि देशको झण्डा उठाउन कुनै कसर बाँकी राख्दैनन भन्ने कुरालाई म थप चरितार्थ गर्दै देशका लागि केही योगदान गर्न चाहन्छु ।”

के हो ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ ?
‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ विश्वकै सहाशिक प्रतियोगिताको रुपमा चिनिने गर्दछ । युरोपका विभिन्न देशहरुमा यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आए पनि दक्षिण एशियामा भने पहिलो पटक आयोजना हुँदैछ ।

‘एक्सट्रा वर्ल्ड टुर’ नाम वाट सञ्चालन हुने यो प्रतियोगिता विश्वका १७ वटा मुलुकमा आयोजना हुने गरेको छ । “नेपाल सहासिक खेलकुद गन्तव्यका रुपमा विश्वमानै परिचित हुन थालेकोले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं”, प्रतियोगिताका को–डाइरेक्टर योन्जनले भने–“यो वर्ल्ड एक्स्ट्रिम टुर हो, दक्षिण एसियामा मात्रै नभई दक्षिण एशियाली मुलुकमा यस्तो प्रतियोगिता आयोजना गर्ने नेपाल पहिलो देश हुनेछ ।”

सदस्य सचिव गुरुङ भन्छन्
नेपालका हिमाल, पहाड यहाँका प्राकृतिक तालहरुको कारण सहाशिक खेलकुदको गन्तव्यको रुपमा पहिचान दिलाउन यो कार्यक्रम महत्वपूर्ण हुने प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । उनले भने–“पोखरालाई विश्वमा नै साहासिक खेलकुदको गन्तव्यको रुपमा पहिचान दिन यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।” प्रदेश खेलकुदले समेत यो प्रतियोगिता आयोजनाका लागि सहयोग गरेको बताउँदै प्रतियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक रहेको औल्याए ।

प्रतियोगिताको विशेषता
यो प्रतियोगिताको विशेषता भनेको नै सहभागी प्रतियोगिहरुले अनिवार्य रुपमा आ–आफ्ना खेल सामाग्री सहित एक जना सहयोगी पनि संगै लिएर अनिवार्य रुपमा आउनुपर्ने छ । “दौडको समयमा प्रतियोगीलाई केही सामाग्री आवश्यक पर्‍यो वा पानी नै चाहियो भने पनि सहयोगी मार्फत नै हुनेछ,” को–रेस डाइरेक्टर योञ्जनले भने–“यसमा आयोजकले कुनै सहयोग गर्दैन ।” अर्को विशेषता भनेको यो प्रतियोगितामा आयोजक संस्थाका सदस्यहरु समेत सहभागी हुनुपर्नेछ । उनले प्रतियोगिहरुको सुरक्षाका लागि स्वयसेवक टोली सहित हेलिकप्टरको समेत व्यवस्था गरिएको जानकारी दिए ।

के पाउँछन् विजयी प्रतियोगीले
विश्वकै अति कठिन मानिएको ट्राइयाथलन प्रतियोगितामा सहभागी हुनेहरुले धेरै धनराशी पाउने आंकलन गर्न सकिन्छ । तर उनीहरुले त्यस्तो मेडल, प्रमाणपत्र वा कुनै नगद भने पाउने छैनन् । उनीहरुले पाउनेछन् त केवल एक टिशर्ट जुन निकै महङ्गो सँगै दुलर्भ मानिन्छ । जित पछि पाइने कालो छिरिविरे रङ्गमा प्रतियोगिताको लोगोले नै विश्वभर त्यो प्रतियोगीलाई चिनाउने छ । त्यसका अलवा आयोजकले चिनो स्वरुप नेपाली हस्तकलाद्वारा निर्मित मेडल समेत प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close