पोखरा स्पोर्टस । प्रथम कास्की जिल्ला पालिकास्तरिय भलिबल प्रतियोगितामा पोखरा महानगर ‘बि’ र अन्नपूर्ण गाउँपालिका ‘ए’ सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
पोखरा महानगर खेलकुद विकास समिति र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा दुबै टिमले आ–आफ्नो खेल जित्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
जिल्लामा छरिएर रहेका खेलाडीहरुलाई क्षमता प्रदर्शन गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्धेश्यका साथ आयोजित प्रतियोगिताका लिग अन्तर्गत भएका खेलमा पोखरा महानगर ‘ए’ले मादीलाई २५–१५ र २५–१४ को सोझो सेटले, अन्नपूर्ण ‘ए’ले पोखरा महानगर ‘ए’ लाई २५–१५ र २५–१५ ले, माछापुच्छ्रे ‘ए’ले अन्नपूर्ण ‘बि’लाई २५–२० र २६–२४ ले, पोखरा ‘बि’ले मादी ‘ए’लाई २१–२५, २५–२२ र २५–२० ले पराजित गरेका थिए ।
त्यसै गरी सम्पन्न अन्य खेलमा रुपा गाउँपालिकाले माछापुच्छ्रे ‘बि’ लाई २५–१३ र २५–१२ को सोझो सेटमा, पोखरा महानगर एले रुपालाई २५–१३ र २५–१७ को सोझो सेटमा र रुपाले नै मादी ‘बि’लाई २५–१८ र २५–१३ को सोझो सेटमा पाखा लगाएको प्रतियोगिता टेक्निकल टिमका संयोजक नारायण भण्डारीले जानकारी दिएका छन् ।
प्रतियोगितामा कास्कीका पाँच पालिकाका ९ टिमको सहभागिता रहेको पोखरा महानगर खेलकुद विकास समितीका सदस्य सचिब सुभास खड्काले पोखरा स्पोर्टसलाई बताए । रुपा बाहेक सबै पालिकाबाट २–२ पुरुष टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश रु.१,११,१११।–,रु.५५,५५५।–र रु.३३,३३३।– नगद, ट्रफि,मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । त्यसै गरी उत्कृष्ट ६ विधाका खेलाडीहरुलाई जनही नगद रु.५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न रु.१० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
