एसियाली खेलकुदमा पहिलो पटक नेपाली महिला ह्याण्डबल टोलीको सहभागिता, ३२ खेलाडी छनौट

केशव पाठक/पोखरा स्पोर्टस । चिनको हाङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदमा नेपाली महिला ह्याण्डबल टोलीले पहिलो पटक सहभागिता जनाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एसियाली खेलकुदका लागि खेलाडी छनौट गर्न आह्वान गरे बमोजिम प्रारम्भिक छनौटमा ३२ खेलाडी छनौट गरेको हो । तिन दिन सम्म भएको छनौटमा सातै प्रदेश र दुई विभागिय टिम गरी कुल ९ टिमबाट ३२ खेलाडी प्रारम्भिक चरणमा छनौट गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहालले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“हामी पहिलो पटक एसियन गेम्समा जाँदैछौ यसका लागि म राखेप, नेपाल ओलम्पिक कमिटी र नेपाल ह्याण्डबल संघलाई आभार व्यक्त गर्न चाहन्छु ।”

नेपालमा २०३८ सालमा नेपाल ह्याण्डबल संघ गठन भए संगै ह्याण्डबल खेलको विकास प्रारम्भ भएको थियो । कुनै बेला अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्चस्तरको प्रदर्शनका लागि नेपाली ह्याण्डबल खेल चिनिए पनि केही दशक यो खेल सुस्ताउन पुग्योे । तर पछिल्लो केही वर्ष यता नेपाली ह्याण्डबल खेल अघि बढेको मात्रै होइन तिन वर्ष अघि नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला टोलीले रजत पदक हात पार्न सफल भयो । सोही नतिजाको परिणामले नै महिला ह्याण्डबल टोली नेपाली ह्याण्डबलको इतिहासमा नै पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने मौका प्राप्त गरेको हो ।

पहिलो पटक एसियाली खेलकुदमा सहभागिता गराउने श्रेय भने नेपाली ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाललाई नै जान्छ । पहिलो पटक एसियाली खेलकुदको महाकुम्भमा जान लागेको टिमका बारे आफ्ना भनाई राख्दै उनी भन्छन–“हामीले जुन अवसर पायौं त्यो महत्वपूर्ण हो । यसको शाखलाई जोगाई राख्न हाम्राका लागि निकै ठूलो चुनौती छ । अब प्रशिक्षणका अलवा सागमा खेलेका भन्दा अन्य वैदेशिक टिम संग मैत्रीपूर्ण प्रतिष्पर्धा हामीलाई आवश्यक्ता हुन्छ ।”

एसियाली खेलका लागि जम्मा तिन महिना बाँकी रहेको बताउँदै उनले यसका लागि विदेशबाट प्रशिक्षक बोलाएर भए पनि परिणाम दिन सक्ने गरी प्रशिक्षण गर्नुपर्ने औंल्याए । उनले भने–“हाम्रा प्रशिक्षकमा कमजोर छन् भनेर भनेको होइन । तर अहिले ह्याण्डबलमा धेरै नयाँ टेक्निकहरु आएका छन् । त्यो कुरा हाम्रा प्रशिक्षकहरुलाई थाहा नहुन सक्छ । त्यसैले पनि विदेशी प्रशिक्षक आवश्यक छ जसले हाम्रा खेलाडीलाई नयाँ टेक्निक सिकाउन सकोस ।” उनले एसियाली खेलकुदमा सहभागिताले पनि १४ औं साग गेम्सका लागि उत्कृष्ट परिणाम आउने कुरामा आफू विश्वस्त रहेको बताए ।

एसियाली खेलमा महिला ह्याण्डबलमा केही खाडी मुलुक सहित कोरिया, जापान र आयोजक राष्ट्रको हैसियतमा चिन समेत उत्कृष्ट रहेको जनाउँदै दाहालले खेलाडीहरुको मनोबल उच्च बनाउन धेरै समिश्रणले काम गर्ने भएकोले टिममा साइकोलोजिष्ट, फिजियोथेरापिष्ट, मोटिभेटर, रिसर्च पसर्न र चिकित्सक समेत आवश्यक पर्नेमा उनले जोड दिए । त्यसै गरी खेलाडीलाई प्रशिक्षण संगै आराम र सन्तुलित भोजनको समेत उत्तिकै महत्वपूर्ण उनले जनाए ।

नेपाली ह्याण्डबलले चार दशक अघि पुरुष टिमले एसियन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । सन २०१९ मा भारतमा सम्पन्न महिला जुनियर एसियन च्याम्पियनसिपमा नेपाली ह्याण्डबल टिमले सहभागिता जनाउँदै आठौं स्थान प्राप्त गरेको थियो । सोही वर्षनै महिला ह्याण्डबल टोली १३ औं सागमा रजत पदक प्राप्त गरेको थियो । नेपालको ह्याण्डबल खेल यति बेला ३२ जिल्लामा रहेको छ भने विभागिय टिममा नेपाल आर्मी र शसस्त्र प्रहरीबलको आ–आफ्नै टिम रहेको छ । नेपाल प्रहरीले भने केही वर्ष यता ह्याण्डबल खेललाई अघि बढाएको छैन ।

नेपाली महिला ह्याण्डबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने भए पछि ह्याण्डबल खेलप्रेमीहरु उत्साहित छन् । तर ओलम्पिक खेलको रुपमा दर्ज ह्याण्डबल खेलको विकासका लागि राज्यको सहयोग भने न्यून छ । यति बेला पोखरामा ह्याण्डबलको केही पूर्वाधार विकास भएको छ भने काठमाडौंको कपनमा नयाँ ह्याण्डबल कभर्डहल निर्माणको चरणमा छ । ह्याण्डबल खेलका लागि प्रशिक्षकहरुको माग भए पनि यति बेला प्रशिक्षक अभावका कारण नेपाल ह्याण्डबल संघले ठूलो कठिनाई भोगेको छ । नेपालमा मुख्य प्रशिक्ष दाहाल सहित केही सहायक प्रशिक्षकहरु राखेप अन्तर्गत कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close