
पोखरा स्पोर्टस । आरबिबि एनभिए कप भलिबल प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयले बिदाई गरेको छ ।
यहि बैशाख १८ देखि २४ गते सम्म काठमाडौंमा आयोजना हुने उक्त प्रतियोगितामा जान लागेको टोलीलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले विदाई गरेका हुन् । खेलाडीलाई जितको शुभकामना संगै अनुशासित भएर खेल्न आग्रह गर्दै मन्त्री गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमितता रोक्नेतर्फ आफ्नो प्रयास रहने बताए । उनले भने–“प्रतियोगिता आयोजना हुनु महत्वपूर्ण कुरा हो तर प्रतियोगिता भएकै निहुँमा खेलाडी ठगिन हुँदैन भन्ने अर्को महत्वपूर्ण पाटो हो । त्यसतर्फ मेरो सम्पूर्ण ध्यान जानेछ । हामी टिम नै बनाएर अनियमितता रोक्नेतर्फ लाग्ने छौं ।”
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुव्यवस्थित बनाउन आजको आवश्यक्ता रहेको औंल्याउँदै मन्त्री गुरुङले व्यवस्थापन पक्ष चुष्त हुनुपर्नेमा आफ्नो जोड रहेको बताए । उनले पछिल्लो समयमा गण्डकीले भलिबल खेलमा उत्कृष्टता हासिल गर्दै गएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले अन्तर्राष्ट्रिय प्रशिक्षणमा समेत सहभागिता गराउनेतर्फ मन्त्रालयले सोंच अघि बढाएको उल्लेख गरे । उनले खेलाडीलाई स्वरोजगारतर्फ उन्मुख गराउन समेत आफ्नो पहल रहने बताए ।
टोलीलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा, उपाध्यक्ष देवेन्द्र केसी, कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छ्याम बहादुर थापा मगर, क्षेत्रिय खेलकुदका डिवी नेपाली लगायतले विदाई गरेका थिए ।
यसै गरी पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र टाइगर ग्रुप अफ पोखराले छुट्टै एक कार्यक्रम गरी विदाई गरेको छ ।
यस्तो छ टिम गण्डकी
एनभिए भबिलमा गण्डकी प्रदेशको भलिबल टिम हरि प्रसाद पाण्डेको कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी खेलाडीमा रााजन दर्लामी मगर (लिव्रो), सुजन चोखाल, हिमाल सुनारी, घनश्याम चौधरी, किरण गुरौं, सन्तोष थापा मगर, रवि केसी, मिलन सुनार, निवश आले मगर, प्रेम बहादुर कुमाल र याम क्षेत्री रहेका छन् । टिमको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा यूवराज भण्डारी र टिम म्यानेजरमा जिवन भण्डारी रहेका छन् ।

