‘नवौं राष्ट्रिय खेलकुदका लागि सहयोग गर्न तयार छौं’–खेलकुद मन्त्री गहतराज

पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज ‘अथक’ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् ।

पोखरामा आगामी २२ देखि २८ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले उक्त कुरा बताएका हुन् । उनले भने–“अव प्रतियोगिताका लागि ३७ दिन बाँकी छ । यहाँहरुले आफ्नो तयारी सुरु गर्नुहोस । सरकार यहाँहरुको साथमा छ ।”

यो वर्ष नेपालका लागि चुनावी वर्ष भएको र घोषणा भएको मिति उपयूक्त समय समेत रहेको उल्लेख गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा आयोजना हुने कुरामा जोड दिए । उनले भने–“हामी संग समय छोटो छ । खेलाडी छनौट देखि प्रतियोगिताको तयारी सुरु गर्नुछ ।” उनले पत्रकारहरुको खेलाडी छनौट लगायतको विषयमा सोधेको प्रश्नमा प्रतिप्रश्न गर्दै भने–“मेरो पनि सातै प्रदेशहरुलाई यहि प्रश्न हो । किन खेलाडी छनौट सुरु नर्गनु भएको ? भोलीबाटै प्रक्रिया सुरु गर्नुस सरकार आर्थिक, नैतिक र प्राविधिकरुपमा सहयोग गर्न तयार छ ।”

पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले माथी उठाउन सहयोग पुग्ने बताउँदै मन्त्री गहतराजले कोभिड पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदले पोखरा शुरक्षित छ भन्ने सन्देश समेत विश्वमा प्रवाह हुने बताए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय प्रतियोगितामा आफ्नो ऐतिहासिक बर्चस्व बनाउन सफल हुने भन्दै उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशले समेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गरे ।

मन्त्री गहतराजले एक अर्को प्रसङ्गमा यूवा तथा खेलकुद मन्त्रालयले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ अघि बढेको बताउँदै विदेशबाट अध्ययन गरेर नेपाल फर्किएका जनशक्तीलाई सम्वोधन गर्नेतर्फ समेत मन्त्रालयले सोच बनाएको बताए ।

सो अवसरमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भए संगै देशै भरी यसले तिव्रता पाएको बताए । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहित केही खेलहरु प्रदर्शनी खेलका रुपमा रहने उल्लेख गर्दै उनले–“भने यो महोत्सव हो । खेलकुद र खेलकर्मीका लागि अरु कुरा सहायक हुन् । हाम्रो सम्पूर्ण ध्यान नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउनेतर्फ नै हुनेछ ।” पोखरेलीहरुलाई आफ्नो घर आङ्गनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छोटो र व्यवस्थापनमा चुनौती रहे पनि सकरात्मक सोंचका साथ प्रतियोगिता सफल बनाउन सबैको दायित्व रहेको जनाए । उनले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भए संगै सवै उत्साहित भएको जनाउँदै प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक–एक खेल भएमा प्रतियोगिताले थप उचाई प्राप्त गर्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेगमीले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश सहआयोजक प्रदेशको रुपमा रहेको उल्लेख गर्दै पोखराले पाएको यो अवसर महत्वपूर्ण हुने बताए । आयोजक प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको रहेको बताउँदै सचिव रेग्मीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भवतः कर्णाली प्रदेशमा हुने तयारी भइरहेको समेत जनाए । पोखरामा चार दशक पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोशे ढुङ्गामा आफू आशावादी रहेको उनको भनाई थियो ।

कार्यक्रमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले देश संघिय संरचना गइ सके पनि खेलकुद भने जान नसकेको बताउँदै कर्मचारी अभावमा प्रदेश खेलकुद परिषदले भने जस्तो गरी कार्य सम्पादन गनृ नसकेको जनाए । उनले भने–“अहिले पनि परिषद अन्तर्गत गण्डकीमा ३६ जना कर्मचारी छन् । हामीले समायोजनको कुरा पटक पटक उठाएका छौं तर विडम्वना अहिले पनि हामीले उठाएको कुरामा ध्यान पुग्न सकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close