
पोखरा स्पोर्टस । पोखरा वडा नं १६ जोगिमणी शान्ती उदय आमा समुहद्वारा आयोजित ‘प्रथम सुवास स्मृति क्लवस्तरिय पुरुष भलिबल’को उपाधि सिदिङ माछापुच्छ्रेले जितेको छ ।


सिदिङले आइतबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रेकै किप्चे बराह लान्द्रुकलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । मौसमका कारण तिन सेटमा घटाईएको फाइनल खेलमा गण्डकी प्रदेशका खेलाडीहरु सम्मिलित सिदिङले २५–१९ र २५–१५ ले पक्षमा पार्दै उपाधि सहित नगद ५० हजार हात पारेको छ । उपविजेता बन्न सफल किप्चे बराहले नगद ३५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।
भलिबल खेलाडी स्वर्गिय सुवासको स्मृतिमा आयोजित उक्त भलिबल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा किप्चे बराहका दिवेग तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेता टिम तथा खेलाडीहरुलाई नगद, ट्रफी र मेडल प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, परिषदका सदस्य योगेन्द्र शेरचन, जिल्ला भलिबल संघका सदस्यद्वय बलराम तिमिल्सिना र योगेन्द्र बस्नेत, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लेखनाथ लम्साल लगायतले वितरण गरेका थिए ।
सो अवसरमा प्रदेश खेलकद परिषदका सदस्य सचिव गुरुङले आमा समुहले खेलकुद आयोजना गर्नु महत्वपूर्ण रहेको बताए । उनले भने–“महिलाहरुमा खेलकुदको जागरण नआए सम्म खेलकुदको विकास सम्भव छैन ।” उनले खेलकुदले नै समाजमा मिलेर बस्न सकिने र समाज परिवर्तनका लागि सन्देश दिने भएकोले खेलकुद विकास अपरिहार्य रहेको कुरा औंल्याए ।
समापन कार्यक्रम शान्ती उदय आमा समुहकी अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको थियो ।
