पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले खेलाडी उत्पादनका लागि ‘टेनिस जुनियर समर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
यहि बैशाख १२ गते देखि ३० गते सम्म ६ देखि १२ वर्ष उमेर समुहलाई लक्षित गरी समर क्याम्प सञ्चालन गर्न लागिएको कास्की जिल्ला टेनिस संघका सचिव तथा उक्त कार्यक्रमका संयोजक समेत रहेका नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । समर क्याम्प ६ देखि १२ वर्ष उमेर समुहलाई लक्षित गरिए पनि १६ वर्ष सम्मका लागि सहभागिता जनाउन पाउने छन् । विशेष गरी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी टेनिस खेलप्रति आकर्षण गराउन कार्यक्रम गर्न लागिएको सचिव श्रेष्ठले बताए ।

पोखरा रंगशालामा सञ्चालन हुने जुनियर टेनिस समर क्याम्प दैनिक बिहान ९ देखि १२ बजे सम्म सञ्चालन गरिने भएको छ । सहभागिहरुलाई र्याकेट र बल समेत निशुल्क रुपमा उपलव्प्ध गराइने सचिव श्रेष्ठले जानकारी दिए । १८ दिन सम्म सञ्चालन हुने जुनियर टेनिस समर क्याम्पमा सहभागिता वापत १ हजार २ सय रुपैयाँ लाग्ने छ ।
हरेक वर्ष कास्की जिल्ला टेनिस संघले यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै सचिव श्रेष्ठले पोखरालाई टेनिस खेलको हवको रुपमा विकास गर्न निकै सहयोगी हुने उल्लेख गरे । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा रंगशालामा जुनियर टेनिस कोर्टको निर्माण कार्य करिव पुरा भएको जनाउँदै उनले नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत खेलाडी प्रशिक्षण र सहभागितामा उत्तिकै ध्यान केन्द्रित गरिएको जनाए ।
उनले प्रदेश खेलकुद परिषद गण्डकीको १० लाखको सहयोगमा कोर्ट नं ३ र ४ लाई हुने गरी चाँडै नै प्यारापिट निर्माण सुरु गरिने समेत बताए ।
