
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का निलम्वित पाँच जनाले भोली (शुक्रबार) हुने राखेपको वोर्ड बैठकमा सहभागि गराउन यूवा तथा खेलकुद मन्त्री लाई निवेदन दिएका छन् ।

राखेपको वोर्ड बैठक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतका विषयमा शुक्रबार बोर्ड बैठक बस्न लागेको हो । राखेप सदस्य सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ, रेनुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ र रिम बहादुर रानाभाटले युवा तथा खेलकुद मन्त्रालयमा आज निवेदन दर्ता गराएका हुन् । उनीहरुलाई सरकार परिवर्तन संगै २०७८ मंसिर ३ गतेको मन्त्रीस्तरिय निर्णय बाट निलम्वन गरिएको थियो ।
निलम्वन पश्चात पाँचै जना सदस्यले उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । अदालतले गत मंसिर ९ गते २०७८ मंसिर ३ गतेको मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नर्गन अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
राखेपले शुक्रबारको वोर्ड बैठकमा आफूहरुलाई नवोलाएर अदालतको अवहेलना गरेको राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए । उनले भने–“मुद्धाको टुङ्गोका लागि यहि बैशाख १४ गते पेशी तोकिएको छ अदालतमा मुद्धा विचाराधिन हुँदाहुँदै बोर्ड बैठक बोलाइएको छ । यो सरासर अदालतको अपहेलना हो । हामी यसका विरुद्ध अदालत जान्छौ ।”
आफूहरुले वोर्ड सदस्य नियुक्ती हुने वित्तिकैबाट वोर्ड बैठक बोलाउन माग गरिरहेको बताउँदै र खेलकुद विकासका लागि गतिदिन आग्रह गरिरहेको भए पनि सरकार परिवर्तन संगै राजनितिक प्रतिशोधका आधारमा कार्वाही गरिएको उनले बताए ।
