
पोखरा स्पोर्टस । आगामी आर्थिक वर्षका लागि बजेट निर्माण प्रकृयामा प्रदेश सरकार जुटिरहेको बेला गण्डकी प्रदेश निति तथा योजना आयोगले प्रदेश खेलकुदको आगामी वर्ष २०७९/०८० का लागि सुझाव संकलन गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्वन्धी छलफल कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो । उक्त कार्यक्रममा सहभागिहरुले खेलकुदको बजेट कम्तिमा पनि प्रदेशको कुल बजेटको दुई प्रतिशत हुनुपर्ने कुरामा जोड दिएका छन् । सहभागिहरुले खेलकुदको जनशक्ती उत्पादन र परिचालन, खेल संघहरुको नियमन, विद्यालयतहमा खेलकुद शिक्षक र पाठ्यक्रम अनिवार्य गरिनुपर्ने, स्वास्थ्य अनुशन्धान केन्द्रको स्थापना, खेलाडीको जिवन विमा र निवृतीभरण, पुस्तकालय तथा खेलकुद संग्रहालयको स्थापनामा, एक स्थानियतह एक खेल मैदान हुनुपर्ने कुरामा जोड दिएका थिए
त्यसै गरी खेलकुदमा लगानी गर्ने निजी संघ संस्थाहरुको सहभागिता बढाउन उनीहरुलाई कर छुट सहित सुविधा, भौतिक पूर्वाधारहरुको निर्माण, संरक्षण र स्त्तरोन्नती, प्रतियोगिता सञ्चालन तथा मापदण्ड लगायतका कुरामा समेत जोड दिए । प्रदेश सरकार गठन भए पश्चात पहिलो पटक आयोगले सुझाव संकलन गरेकोमा खुसी व्यक्त गर्दै सहभागिहरुले खेलकुदको वर्गिकरण संगै प्राथमिकिकरणमा समेत जोड दिए । समृद्ध प्रदेशको निर्माणमा खेलकुदको अहम भूमिका रहने बताउँदै उनीहरुले खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा चालू वर्षको आर्थिक अवस्था, खर्चको विवरण, उपलब्धि, चुनौतीका बारेमा समेत आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद मार्फत प्रदेशको समृद्धीका लागि खेलकुदमा बजेट बढाउनु पर्ने बताए । उनले प्रदेशको खेलकुद विकासका लागि प्रदेश खेलकुद निति निर्माण आवश्यक रहेको कुरा औंल्याउँदै खेलकुद समग्र प्रदेशको विकासका लागि सशक्त र प्रमुख अङ्ग रहेको उल्लेख गरे ।
युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले प्रदेश सरकारले चालु आर्थिक वर्षमा जस्तै गरी वजेट निर्माणका लागि सिलिङ तोकिएको बताउँदै करिव आगामी आर्थिक वर्षका लागि करिव ४० करोडको बजेट पेश गरिने बताए ।
प्रदेश निति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, राखेपका पूर्व सदस्य खड्ग बहादुर रानाभाट, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक गोदार, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङ, सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल लगायतको सहभागिता रहेको थियो ।
