
पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जारी राष्ट्रिय नाईन ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा सोमबार दुई सेमिफाईनल खेल सम्पन्न भए संगै मंगलबार हुने फाईनल खेलका लागि अन्तिम टुङ्गो लागेको छ ।
मंगलबार हुने फाइनलका लागि पोखराको संगम बी र सानो गौचरन उपाधिका लागि भिड्ने भएका हुन् । सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा संगमी बीले विजयी हासिल गरेको छ । संगम बीले पोखराकै बगर भाइखलकलाई ३–१ गोलले पराजित गरेको थियो ।
संगमका लागि नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे । खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको दुई गोल गरेपछि फाईनल पुगेको हो । बगर भाइखलकका लागि मनोज गुरुङले २७ औं मिनेटमा एक गोल फर्काएका थिए । नरेन्द्र प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो सेमिफाईनलमा सानो गौचरनले चितवनलाई पराजित गरेको हो । सानो गौचरनले चितवन भेट्रानमाथि ३–० ले पन्छाउँदै फाईनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२ औं मिनेटमा गोल गर्दै दिलाएकोअग्रतामा शुक्रले ३८ र ४९ औं मिनेटमा थप दुई गोल गर्दै संगम बी सँग उपाधि प्रतिस्पर्धा निश्चित बनाएका हुन् । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा उपाधि विजेता टोलीले नगद ३ लाख राशी सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिएको जानकारी अनुसार सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ । उत्कृष्ट स्ट्राईकर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेण्डर र गोलकिपरले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । सोमबार भएको दुई सेमिफाईनलिष्ट टोली नगद ३०/३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
