नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा स्पोर्टस । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरिएको बताए । उनले भने–“यो हाम्रो सानो र छरितो कार्यक्रम थियो, हामी आयोजक प्रदेशको नाताले के कस्ता विषय बैठकमा प्रस्तुत गर्ने भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेका छौं ।”

गण्डकी प्रदेशको राजधानी पोखरामा करिव ३९ वर्ष पछि हुने राष्ट्रिय खेलकुद हुने भए संगै क्षेत्रिय खेलकुद मार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेलको प्रस्तावना सहित अघि बढेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए । उनले राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार र त्यसको स्तरोन्नती अहिलेका लागि महत्वपूर्ण विषय रहेको बताउँदै कम्तिमा ३६ वटा खेलहरु प्रस्तावका रुपमा अघि सारिएको उल्लेख गरे ।

राखेपका पूर्व सदस्य एवम अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले यो अवसरलाई चुनौतीका रुपमा ग्रहण गर्दै ३९ वर्ष पछिको इतिहास दोहोर्‍याउने जिम्मा पोखरेलीहरुको काँधमा आएको बताए । त्यस्तै नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसावमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासीहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भनाई राख्दै प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषद विच रहेका विभिन्न प्रशासनिक झञ्झटहरुबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

स्मरणिय के छ भने क्षेत्रिय खेलकुदले नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतीका लागि करिव १७ करोड प्रस्ताव गरेको छ । त्यस संगै राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनौटका प्रतियोगिता संगै बन्द प्रशिक्षण लगायतका कार्यक्रमहरु समेतलाई अघि बढाउनुपर्ने वाध्यता समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close