मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

पोखरा स्पोर्टस । नयाँ वर्षको अवसर पारेर धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको छ । अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताए । प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।

धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ । दिउँसो अत्याधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए । “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ । ‘नेपाल तथा सुदुरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ ।’ क्लबका अध्यक्ष जोशीले भने–‘प्रतियोगितालाई उत्सव र सानको रुपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’

‘सुदुरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदुरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजना सुरु गरेका हौं ।’ पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने–‘ प्रतियोगिताले सुदुरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’

टाइसिट तथा ट्रफी सार्वजनिक
भोलीदेखि सुरु हुने महिला गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । भोलिको पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुने छ । यस्तै पत्रकार सम्मेलनमा ट्रफी समेत सार्वजनिक गरिएको छ ।

वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close