
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गत १६ चैतको महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार शपथ लिएका हुन् ।

महानगरले उपाध्यक्षमा राजेन्द्र जिसी र सदस्यमा दिनेशबाबु खड्का, जीवन बाटाजु, ऋषिसरा थापा, कुसुम गुरुङ, भरत बानियाँ, प्रिती बराल र अनुप पौडेललाई नियुक्त गरेको थियो । उनीहरुलाई महानगर प्रमुख मानबहादुर जिसीले शपथ गराएका हुन् ।
समितिको अध्यक्ष र सदस्य सचिव १० महिनाअघि नियुक्त भइसकेका थिए । अध्यक्षमा दिपकबहादुर गोदारलाई महानगरले गत जेठ पहिलो हप्ता र सदस्य सचिवमा सुवास खड्का असार पहिलो हप्ता नियुक्त भएका थिए ।
शपथपछि बोल्दै मेयर जिसीले देशका अरु पालिकामा बनेका समितिभन्दा उत्कृष्ट हुने गरी काम गर्न निर्देशन दिए । अन्य पालिकाका समितिसँग सहकार्य गरेर काम गर्न उनको सुझाव थियो । ‘यो नाममात्रैको समिति होइन । खेलकुद गतिविधिबाट पर्यटन प्रवद्र्धन गर्नुपर्छ । खेल विज्ञसँग बसेर कार्ययोजना र वार्षिक कार्ययोजना बनाएर काम गर्न आवश्यक छ,’ मेयर जिसीले भने । उनले महिलाहरुलाई पनि खेलकुद गतिविधिमा संलग्न गर्नेतर्फ पनि जोड दिन समितिलाई सुझाव दिए ।
त्यस्तै अध्यक्ष गोदारले खेलाडीलाई समितिको अपनत्व महसुस हुने वातावरण सिर्जना गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । पोखराको खेलकुद विकास समितिलाई देशकै उत्कृष्ट बनाउने नतिजा निस्कने गरी समिति खेल गतिविधिमा क्रियाशील रहने उनले बताए । पोखरामा रहेका खेल संस्थासँग सल्लाह सुझाव लिएर पोखरालाई खेलकुदमा नमुना सहर बनाउन प्रयास गर्ने उनले बताए ।
खेलकुद विकास, अनुसन्धान, अध्ययन, तालिमलगायत काम गर्ने गरी महानगरपालिकाले २०७५ सालमा खेलकुद विकास ऐन बनाएको थियो । महानगरका कर्मचारी पदेन सदस्य रहने समिति १५ सदस्यीय हुने व्यवस्था ऐनमा छ । खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने क्लब, संस्थाको दर्ता सूचीकरणको अधिकार पनि ऐनले समितिलाई दिएको छ ।
समितिको पहिलो बैठकले पदाधिकारी नियुक्त गरेकोमा महानगर कार्यपालिकालाई धन्यवाद दिने, कार्यालय व्यवस्थापनको काम अघि बढाउने र नेपाली नयाँ वर्ष २०७९मा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पोखरा रंगशालाभित्र समितिको कार्यालय बनाउन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइसकेको सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
