
पोखरा स्पोर्टस । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा बुधबार देखि पोखरामा सुरु भएको ‘दोश्रो मेयर कप खुला राष्ट्रिय माविस्तरिय छात्र/छात्रा तथा तेश्रो टाइगर ग्रुप भेट्रान्स बास्केटबल प्रतियोगिता’ जारी रहेको छ ।
जारी प्रतियोगितामा बिहिबार छात्रतर्फ १३ वटा खेलहरु र भेट्रान्सतर्फ चार खेल सम्पन्न भएका हुन् । प्रतियोगितामा काठमाण्डौको जेभियर इन्टरनेशनल कलेजले आफ्ना सबै खेलहरु जितेको छ । जेभियरले आज सम्पन्न दुवै खेल जितेको छ । जेभियरले कुमुदिनी होम्स मावीलाई ५६–२१ र बाल कल्याण मावीलाई ५६–१९ को स्कोरमा पराजित गरेको हो । त्यस्तै आज नै सम्पन्न अन्य खेलमा न्यू ग्यालेक्सी मावीले समेत आफ्ना दुई खेल जितेको छ । ग्यालेक्सीले बाल कल्याणलाई ५०–१५ र कुमुदिनीलाई ५५–२३ ले पराजित गरेको हो ।
त्यस्तै मनकामना मावीले माउन्ट एभरेष्ट मावीलाई ४२–३७ ले, भद्रकाली मावीले पोखरा युनाइटेडलाई ५०–४० ले, मनकामना मावीले म्याग्दी मल्टीपल क्याम्पसलाई ४१–३६ ले, टाइम्स कलेजले हिल पोइन्टलाई ४४–१२ ले, माउन्ट अन्नपूर्णले नव जागृतीलाई ३४–२५ ले र राष्ट्रिय मावीले हिमाल कलेजलाई ४२–३२ को स्कोरले पराजित गरेको रेफ्रि संयोजक राम क्षेत्रीले पोखरा स्पोर्टसलाई बताए ।
त्यसैगरी भेट्रान्सतर्फ युनाइटेड काठमाण्डौले लामाचौर ‘बि’ ५४–२२ ले, लामाचौर ‘ए’ले हैरान दमौलीलाई २८–१३ ले र कास्की जिल्ला बास्केटबल संघले हैरान दमौली ‘वि’ लाई २६–१० को स्कोरले पराजित गरेका छन् ।
चैत २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मावि छात्र (प्लस टु) विद्यालयतर्फ २० टिम, छात्रातर्फ २ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेता र उपविजेता छात्रा/छात्रा टिमले जनही नगद रु ३०/३० र २०/२० हजार र भेट्रान्सतर्फको उपाधि विजेता र उपविजेता टिमले नगद ६० र ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले जनाएका छन् । पोखरा महानगर पालिकाको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताका लागि यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, टाइगर ग्रुप अफ पोखरा नेपाल, फेवा/सावित्री जेभी लगायतले विशेष सहयोग गर्ने बताए ।
