
पोखरा स्पोर्टस । पोखरामा बुधबार देखि सुरु भएको ‘२० औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ अन्तर्गत बुधबार पहिलो चरणको सोलो ओभरअलमा समान ३/३ अंक बटुल्दै नेपाली सेनाका सागर जलारी र बिष्णु तिमिल्सिना अग्र स्थानमा रहेका छन् ।
त्यसै गरी महिला तर्फ ५० अंकका साथ दुर्गा माया गुरुङ अग्र स्थानमा रहेकी छन् । जलारी र तिमिल्सिना भन्दा एक अंकले पछि परेका बिशाल थापा ४ अंकका साथ दोश्रो स्थानमा रहेको हवाई खेलकुद संस्था नाका प्राविधिक उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक समितीका सह–संयोजक अनिल केसीले जानकारी दिए । टेण्डम ओभरअलमा २ अंकका साथ शिव थापा अग्र स्थानमा, ३ अंकका साथ सुवास थापा दोश्रो स्थानमा रहेका छन् ।
प्रतियोगितामा ८ जना महिला सहित ७७ जना प्याराग्लाईडिङ पाइलटहरु सहभागी भएको नाले जनाएको छ । शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका सांसद राजीव पहारीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा सांसद पाहारीले प्रतियोगिताले पोखराको पर्यटन प्रबर्द्धन गर्न मद्धत पुग्ने बताए । पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण भएसंगै अब पोखराको प्याराग्लाईडिङलाई समयको आधारमा व्यबस्थापन गर्नुपर्ने उनले उल्लेख गरे । सांसद पहारीले भने–“पोखराको बसाई अवधि लम्बाउने एउटा राम्रो प्रोडक्ट सहासिक खेल प्याराग्लाईडिङ हो, विमानस्थलको कारण यो बिस्थापित हुन पुगेमा यसले पोखराको लागि ठुलो क्षति हुने छ ।”
सांसद पहारीेले पाइलटलाई ग्लाइडर हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले कोरोनाबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई यस्ता सहासिक खेल गतिविधिले थोरै भए पनि पुर्नउत्थान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ३७ जना टेण्डम (व्यवसायीक प्याराग्लाईडिङ) पाइलट र ३२ जना सोलो (सिक्दै गरेका पाइलट) को सहभागिता छ ।
यस पटक एक्युरेसी तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक बलराम आचार्यले बताए । महिला÷पुरुष तथा टिम तर्फ गरी ७ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको संयोजक आचार्यले जनाए । प्याराग्लाइडिङको एक्युरेसी तर्फ सोलो ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने भएको छ । सोही विधामा महिलातर्फ भने प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्नेछन् ।
त्यसै गरी टिम एक्युरेसी सोलो ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुनेले क्रमशः २०, १५, १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । एक्युरेसी टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्धितिय र तेश्रो तथा सान्त्वना हुनेले क्रमशः ३०, २०, १०, ५ हजार रुपैया प्राप्त गर्ने भएको छ । त्यस्तै एक्युरेसी टिम टेण्डम ल्याण्डिङ ओभरअलमा प्रथम, द्वितिय र तेश्रो हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएको नाले जनाएको छ ।
एयर शो (एक्रोबेटिक) तर्फ प्रथम, द्वितीय र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैया प्राप्त गर्ने भएका छन भने वेष्ट कस्टुयुमतर्फ उत्कृष्ट एक जना खेलाडीलाई १० हजार नगद पुरस्कारको साथमा शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिने भएको नाका अध्यक्ष कृष्ण भण्डारीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशको राजधानी पोखरा सहित मधेश प्रदेश बाहेक अधिकांश प्रदेशका खेलाडीहरु सहभागि छन् । विभागिय टीमबाट नेपाली सेनाका खेलाडी समेत सहभागिता जनाएका छन् ।
पोखरामा व्यवसायिक रुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ३ सय ६६ टेण्डम प्याराग्लाइडिङ पाइलट र करिव एक सय ४० जना सोलो प्याराग्लाईडिङ पाइलटहरु रहेको प्रतियोगिता टेक्निकल डाइरेक्टर योगेश भट्टराईले जनाएका छन् ।
प्र्रतियोगितालाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा भएको नाले जनाएको छ भने प्रतियोगिताको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।
