पोखरामा सम्पन्न दुवाथलनको उपाधी हिमाल र हिराकुलाई

पोखरा स्पोर्टस । नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधी जित्न सफल भएका छन् ।

टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुष तर्फ मानबहादुर थापा मगर दोश्रो र बसन्त थारु तेश्रो भए । मानबहादुरले ५५ मिनट १.०७ सेकेन्डमा र थारुले ५८ मिनट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै महिला तर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङ्गले १ घन्टा ७ मिनट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।

पदक जितेका नेपाली खेलाडीहरु सोझै आसन्न एशियाली खेलकुदका लागि समेत छनौट भएको आयोजकले जनाएको छ ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश साँसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ्ग, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, कास्की ट्राइयाथलन संघका अध्यक्ष सुमन देवकोटा, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस अघि कार्यक्रमको समापन गर्दै नेपाल ट्राइयाथलन संघका अध्यक्ष श्रेष्ठले अर्को वर्ष सन २०२३ मा प्रतियोगितालाई अझै भव्य बनाउने योजना रहेको सुनाए । उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै संघको ११ वर्ष देखिको प्रयासले नेपालको खेलकुद विकास संगै खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद तथा संघका उपाध्यक्ष दिपक कोइराला, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close