वीर गणेशमान राष्ट्रिय बक्सिङ्ग छनौटमा पर्वतको दवदवा

पोखरा स्पोर्टस / तस्विरः सुदर्शन रञ्जित । तेश्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा पर्वत जिल्लाको दवदवा रहेको छ ।

पोखरा रंगशालामा बुधबार सम्पन्न छनौट खेल अन्तर्गत विभिन्न तौल समुहको फाइनलमा पुरुषतर्फ पर्वतका पाँच, कास्कीका एक र नवलपुर एक गरी सात खेलाडी छनौट हुन सफल भएका हुन् । छनौटमा पर्नेहरुमा आशिष राना (नवलपुर), सौगात कुमाल (कास्की), निश्चल गुरुङ (पर्वत), सुनिल विक (पर्वत), निशान गुरुङ (पर्वत), मनिष जिशी (पर्वत) र किरण विक (पर्वत) रहेका छन् ।

बक्सिङको केन्द्र मानिएको कास्कीका एकमात्र खेलाडी ५७ केजी तौलमा सौगात कुमार कुमाल छनौट भएका छन् । सौगातले फाइनलमा स्याङ्जाका विपिन क्षेत्रीलाई फाइनलमा पाखा लगाएका थिए ।

त्यस्तै सम्पन्न छनौट खेलतर्फको पुरुष ५२ केजी तौलमा नवलपुरका आशिष रानाले कास्कीका सरोज गुरुङलाई फाइनलमा पराजित गर्दै काठमाण्डौको यात्रा तय गर्ने भएका छन् । आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा स्थान बनाएका छन् भने ६३ केजी तौलमा कास्कीका सागर परियार पर्वतका निश्चल गुरुङ संग पराजित भएका छन् ।

६९ केजी तौलमा पर्वतका सुनिल विकले कास्कीका कुशल कुमाललाई फाइनल भिडन्तमा पाखा लगाए भने ७५ केजीमा पर्वतकै निशान गुरुङले कास्कीका मन गुरुङलाई पराजित गरे । ८१ केजी तौलमा पर्वतका मनिष जिशी छनौटमा परेका छन् । त्यसै गरी पर्वतका किरण विकले कास्कीका आयुष थापालाई पन्छ्याउँदै छनौट भएका छन् ।

त्यस्तै महिलातर्फ भने दुई जना खेलाडीहरु सोझै विर गणेशमान राष्ट्रिय बक्सिङमा जाने मौका पाएका छन् । छनौटमा परेका खेलाडी सवै पर्वत जिल्लाका हुन् । छनौटमा पर्ने हरुमा ५७ केजीमा सिमा गुरुङ र ६० केजी तौलमा जेशिना गुरुङ रहेका छन् ।

वीर गणेशमान स्मृती फाउण्डेशन गण्डकीका संयोजक राजेन्द्र पाहारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा संयोजक पाहारीले वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनलमा जितने खेलाडीहरुलाई नगद १५ हजार प्रदान गर्ने घोषणा समेत गरेका छन् । उनले पोखरा रंगशालामा अवस्थित बक्सिङ्ग रिङ्ग मर्मतका लागि नगद ५ हजार समेत प्रदान गरे ।

समापन कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य वुद्ध गुभाजु, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, फाउन्डेशनका केन्द्रिय सदस्य विद्या प्रसाद मर्सानी, लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुन, संघका सदस्य हितमान गुरुङ, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले आ–आफ्नो भनाई राखेका थिए ।

छनौट प्रतियोगितामा पाँच जिल्लाका महिला र पुरुष गरी २९ खेलाडीहरुको सहभागिता रहेको छ । छनौट प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशस्तरीय प्रतियोयिगता आयोजना गरिएको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close