यू-१९ महिला क्रिकेट टोलीका सदस्यलाई जनही ५० हजार दिने गण्डकी प्रदेश सरकारको घोषणा

पोखरा स्पोर्टस । १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक सहयोग गर्ने बताएका छन् ।

मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री बरालले प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पुराएको योगदानको प्रंशम्सा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । प्रदेश सरकारले सहभागि खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैया सहयोग गर्न चाहेको उनले बताए ।

खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा उक्त रकम दिने सोच बनाएको मन्त्री बरालले बताउँदै भने–“राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनु भएको तपाई सम्पूर्ण खेलाडी, अफिसियल, खेल संघ लगायतलाई विशेष धन्यवाद दिन चाहन्छु, यो जितले गण्डकी प्रदेशको गौरव र शान बढेको हामीले महशुस गरेका छौं ।”

खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल क्षेत्र प्रवर्द्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित गर्ने मन्त्री बरालले बताए । खेल क्षेत्रले पर्यटन प्रवर्द्धन संगै आर्थिक गतिविधि समेत बढाउन भएकोेले खेलकुदमा लगानी अपरिहार्य हुने उनले उल्लेख गरे ।

प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठुलो खुसि प्रदान गरेको बताउदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविश्य ग्यारेन्टी गर्नुपर्ने जनाए । सम्भावना भएका खेलाडीहरु पलायन हुने अबस्थालाई अन्त्य गर्नुपर्ने उनको धारणा थियो ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालिन योजना अनुसार लगानी आवश्यक भएको बताए । गण्डकी प्रदेशका खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसि छाएको बताए । प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसावले बढी प्राथमिकता दिनुपर्ने उनको माग थियो ।

गण्डकी प्रादेशिक क्रिकेट संघले मन्त्रालयमै आयोजना गरेको उक्त कार्यक्रममा अर्थ मन्त्री बराल, आन्तरिक मामिला मन्त्री विश्वकर्मा, प्रदेशका अर्थ तथा विकास समितिका सभापति कोइराला, प्रदेशका प्रमुख सचिव रविलाल पन्त, अर्थ सचिव बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी लगायतले खेलाडीहरुलाई सम्मानपत्रको साथमा फुल माला र अविर लगायर सम्मान गरेका थिए ।

कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो । गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिस्वकर्मा (उ.क), सिमाना के.सी., ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय (क), सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली रहेका छन् । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close