
पोखरा स्पोर्टस । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ ।
हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका हुन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । उनी नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।
हरियाणा पुल ए विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यु डायमन्ड एकेडेमीसँग खेल्नेछ ।
त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । उनलाई होटल सेन्ट्रल प्लाजाका मार्केटिङ म्यानेजर रमेश पाठक, भायोनेटका म्यानेजर भानु रेग्मी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रीता कोइराला र नेपालगन्ज उपमहानगरपालिका सदस्य तरुण बज्राचार्यले पुरस्कृत गरे । आर्मी पनि पुल बी तर्फ विजेताको हैसियतमा पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।
आइतवार पहिलो सेमीफाइनल हरियाणा र न्यु डायमन्ड तथा दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । सोमवार दिउँसो फाइनल खेल हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
