
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा यहि चैत १२ गते हुने विभिन्न दौड कार्यक्रम सफल बनाउन पोखरेली एक जुट हुन थालेका छन् ।
यहि चैत १२ गते हुने १० किमि खुला महिला तथा पुरुष दौड, ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर महिला तथा पुरुष र दृष्टिविहिन महिला तथा पुरुष दौड सफल बनाउन उनीहरु एकजुट हुन थालेका हुन् । यसै क्रममा उक्त प्रतियोगिताको विभिन्न दौड रुटमा पर्ने मध्ये पोखरा ५ स्थित अभियान युवा क्लव, गहन महिला सुमह, अभियान महिला समुह, नमुना आदर्श महिला समुह, नन्द किशोर शिवालय टोल विकास संस्था, मालेपाटन टोल विकास संस्थाहरुको संयुक्त भेलाले दौड सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन् ।
उक्त कार्यक्रम वडा नं ५ का कार्यावाहक अध्यक्ष उज्जवल खत्रीको प्रमुख आतिथ्यता र समन्वयमा भएको कार्यक्रममा प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै विगत वर्षहरुमा झै पोखरेलीहरुले आफ्ना वडा भित्र रहेका टोल विकास संस्था, टोल सुधार समिती, आमा समुहहरुले खेलाडीको हौसला बढाउन कुनै कमी हुन नदिने बताए ।
उक्त भेलामा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन अन्तर्गत हुने दौड सम्पुर्ण पोखरेलीहरुको साझा कार्यक्रम भएकोले सफल बनाउन सवैलाई आग्रह गरे ।
यहि चैत्र १२ गते हुने पोखरा म्याराथनको १६ औं संस्करण अन्तर्गत खुला महिला/पुरुष १० किमि दौड र ५ किमि छात्र/छात्रा दौडको समापन सङ्गै ह्विल चियर दौड महिलापुरुष र दृष्टि विहिन दौड महिला/पुरुष दौड समेत पोखराको पर्यटकिय स्थल लेकसाइडमा अवस्थित बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।
उक्त प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष पराजुलीका अनुसार १० किमि महिलारपुरुष दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई बुद्ध चोक, अम्वर सिंह चोक, गण्डकी हस्पिटल पुर्वी गेट हुँदै रानीपौवा चोक, महेन्द्रपुल विपी चोक, मानवअधिकार चोक हुँदै पुनः विपी चोक, न्युरोड, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।
यसै गरी ५ किमि छात्ररछात्रा दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेलक मैदानमा पुगेर समापन हुनेछ ।
प्रतियोगितामा १० किमि खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिलातर्फ १ सय र पुरुषतर्फ २ सय जनालाई समेत दौडको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने छ ।
यसै गरी ५ किमि ५ छात्र/छात्रा दौडतर्फ दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद १२ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्र तर्फ ३ सय र छात्रातर्फ २ सय जनालाई उनीहरुको दौडको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा विजेता हुने छात्र/छात्रा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान स्वरुप छुट्टै पुरस्कारको व्यवस्था गरेको अध्यक्ष पराजुलीले बताए ।
