
पोखरा स्पोर्टस । प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिवार भब्य उद्घाटन हुने भएको छ । हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरे पछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुने भएको हो ।
बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्सका महिला ११७ पुरुष १४३, फुटबलमा महिला १८० पुरुष २३४ खेलाडी रहेका छन् । भलिबलमा महिला/पुरुष समान १२२ खेलाडी रहेका छन् । करातेका महिला ९१,पुरुष ११६,तेक्वान्दो ११४,पुरुष १२१ खेलाडीहरुले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला ७२ पुरुष, क्रिकेटमा ४२ महिला १६८ पुरुष र बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् ।
प्रतियोगितालाई भब्य सम्पन्न गर्न बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव महासचिव रहेको मूल आयोजक कमिटिले बिभिन्न ५ वटा उपसमिति गठन गरेको छ । समारोह तथा प्रचार प्रचार उपसमितिका संयोजकमा रेसलर हिक्मत थपलिया रहेका छन् । बसोबास तथा यातायात उपसमितिको संयोजकमा धनकुमार मैनाली, पुरस्कार शिल्डमेडल तथा पोशाक उपसमितिको संयोजकमा निरवहादुर थापा, स्वास्थ्य उपसमितिको संयोजकमा सपना लामा र सुरक्षा उपसमितिको संयोजकमा डिएसपी खड्ग खत्री रहेका छन् ।
८ खेलका ८ वटा प्राविधिक समिति पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल फाल्गुन २९ देखि शुरु हुनेछन् । फाल्गुन ३० देखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् । हेटौडाको भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ । त्यस्तै काठमाण्डौको दशरथ रंगशालामा चैत्र ६ देखि एथलेटिक्स तथा सिन्धुपलाञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ ।
काभ्रेको धुलीखेल फुटबल मैदानले समापन सहित दुई खेलको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि बक्सिङ चैत्र ९ देखि शुरु हुनेछ प्रतियोगिताको समापन चैत्र १२ गते हुनेछ ।
प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको पनि व्यवस्था गरिएकोे छ ।
