
पोखरा स्पोर्टस । कास्की जिल्ला बास्केटबल संघले अमेरिकाबाट मातृभुमी आएका समाजसेवी तथा खेलप्रेमी सोम गुरुङलाई पोखरामा स्वागत गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन लगायतका कार्यक्रममा पोखरा आएका गुरुङलाई कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका सल्लाहाकार नारायण प्रसाद शर्मा लगायतले स्वागत गरेका थिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै समाजसेवी गुरुङले अमेरिका लगायत विश्वमा छरिएर रहेका नेपालीहरुले आफ्नो थलोको विकासका लागि अग्रपंक्तिमा रहेर सहयोग गरिरहेको उल्लेख गर्दै भने–“चाहे खेलकुदको विकासका लागि होस, शिक्षा वा स्वास्थ्य लगायत अन्य विकासका कार्यमा जहिले पनि अगाडी बढेर नै सहयोग गरिरहेका छन् ।” उनले त्यस्तो सहयोगमा भावनात्मक सम्वन्ध रहेकोले त्यसको उच्चरुपमा सदुपयोग गर्नुपर्ने कुरा औल्याउँदै भने, “यहाँहरुले सहयोग रकमलाई जुन उत्साहका साथ खर्च गर्नु हुन्छ सहयोगीहरुको मन समेत उत्तिकै प्रफुल्लित हुन्छ, त्यसले भावनात्मक सम्वन्धलाई अझै कसिलो बनाउन सहयोग पुग्छ र यसले राम्रो सन्देश प्रवाहित हुन्छ ।”
कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले अमेरिकाबाट पोखराको बास्केटबल खेलको विकासका लागि प्राप्त नगद ४ लाख ५० हजारका लागि आभार व्यक्त गर्दै त्यसका लागि योगदान गर्नुहुने सबैलाई आभार व्यक्त गरे । उक्त रकम मध्ये २ लाख ५० हजार बास्केटबलको पुर्वाद्धार विकासमा खर्च गरिएको जानकारी दिंदैं उनले २ लाख रुपैयाँको अक्षयकोष राखी वार्षिक रुपमा उत्कृष्ट खेलाडीलाई नगदबाट सम्मान गरिने जनाए ।
सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विनोद शंकर पालिखेले योजनावद्ध रुपमा अघि बढेमा खेलकुदको विकास हुने बताए । उनले भने–“खेलकुदको विकास गर्ने हो भने ठोस योजना बनाउनुहोस त्यसको कार्यान्वयन सहि रुपमा गर्नुहोस, यहाँ सहयोग गर्नेको कमि छैन ।”
कार्यक्रममा संघका सल्लाहाकार नारायण प्रसाद शर्माले पोखराको बास्केटबल खेलको विकासका लागि सहयोग गर्ने गैर आवाशिय नेपाली दाजु भाईहरु प्रती आभार व्यक्त गर्दै सहयोगीहरुको उच्च मुल्याङ्कन गरिने बताए । उनले भने–“जो जसले सहयोग गर्नु भएको छ हामी उहाँहरुलाई आभार व्यक्त गर्न चाहन्छौं उहाँहरुले गर्नु भएको सहयोगलाई ठोस योजनाका साथ कार्यान्वयन गर्छौं ।”
