
पोखरा स्पोर्टस । टोकियो पारालिम्पिक–२०२१ मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्द्धनले सहभागिताको प्रमाण पत्र प्राप्त गरेकी छन् ।
अगष्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म भएको टोकियो पारालिम्पिकमा पलेशाले प्रतिस्पर्धा गरेको के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि जम्मा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा पलेशा समग्रमा पाँचौं भइन् । त्यसैको प्रमाण पत्र एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारी सुवेदीले आइतबार एक कार्यक्रमबीच पलेशालाई हस्तान्तरण गरेकी हुन् । टोकियो पारालिम्पिकमा पलेशाको प्रशिक्षकको भूमिका अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले निर्वाह गरेका थिए ।
मुख्य ‘ड्र’ मा बेलायतकी खेलाडीसंग पराजित भएकी पलेशा रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई पराजित गर्दै पदकनजिक पुगेकी थिइन् । कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।
प्रमाणपत्र वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
