
पोखरा स्पोर्टस । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ को तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फागुन ७ गते हुने खुल्ला ४२.१९५ किमि म्याराथन प्रतियोगितामा १६२ जनाले प्रतिस्पर्धा गनेछन् । महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ धावक खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार म्याराथनमा भारत, केन्या, फ्रान्स, यूके, ओमन, आयरल्याण्ड, अमेरिकाका गरी १४ जना धावकहरुसहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट प्रतिप्पर्धा गर्दैछन् ।


प्रतियोगिता अन्तर्गत म्याराथनतर्फ विजेताले ४ लाख पाउनेछन् भने उपविजेताले २ लाख, तेश्रोले १ लाख र चौंथो हुनेले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन विजेताले बेलायतको म्याराथनमा सहभागिता जनाउन पाउने छन् । त्यस्तै, हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले १५ हजार प्राप्त गर्नेछन् । पोखरा म्याराथन अन्र्तगत सञ्चालन हुने १० किमि पुरुष तथा महिला, ५ किमि छात्र/छात्र, ह्विल चियर तथा दृष्टिविहिन दौड प्रतियोगिता आउँदो चैत १२ गते आयोजना हुने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वर्षदेखि दुई चरणमा आयोजना गरिएको हो । आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजनासंगै पुरस्कारको राशी १० लाख पुर्याउने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष पराजुलीले बताए । पोखरा म्याराथनको कूल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने अनुमान गरेको अयोजनकले जनाएको छ ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले पोखरालाई मात्रै नभई गण्डकी प्रदेशलाई नै दौडको प्रदेशमा विश्वमा चिनाउन सबैको सहयोग र साथ रहनुपनेै कुरा औंल्याए । उनले १६ औं संस्करणको म्याराथनलाई समेत सफल बनाउन सहयोगका लागि सम्पूर्ण पोखरेलीहरुलाई आग्रह गरे ।
पोखरा म्याराथनका लागि विशेष रुपमा सहभागि हुन अमेरिका बाट आएका ओलम्पियन नारायण गुरुङले संसारमा छरिएर रहेका नेपालीहरुलाई पोखरा म्याराथनको आकर्षण बढेको उल्लेख गर्दै पोखरा म्याराथनमा विजेता हुने नेपाली धावकलाई वोष्टन वा न्यूयोर्क म्याराथनमा सहभागि गराउन अमेरिकामा बसोवास गरिरहेका नेपालीहरु तयार रहेको जनाए ।
म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख
पोखरा म्याराथनलाई सफल बनाउन पोखरेली मञ्च यूकेले आर्थिक सहयोग प्रदान गरेको छ । म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका अध्यक्ष मनप्रसाद गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरे । यूकेमा रहेका नेपालीहरुबाट पोखरा म्याराथनलाई सहयोगका लागि रकम संकलन गरी पठाएका हुन् । त्यसै गरी विदेशमा बस्ने नेपालीहरुलाई नेपालका विभिन्न पालिकाहरुमा हाइकिङ मार्फत प्रवद्र्धन गर्ने संगै यहि फागुन ८ गते स्याङजाको साल्मे डाँडा जाने योजना समेत सुनाए । उनले बेलायतमा रहेका युवा पुस्ताहरुलाई खेलकुदमार्फत् जोड्न प्रत्येक वर्ष नेपाल रन आयोजना गर्ने पनि गुरुङले बताए । यस नेपाल रनलाई पोखरा म्याराथनसँग जोड्ने गरी अघि बढ्ने उनको भनाई थियो ।
पोखरा म्याराथनको आकर्षण
१६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा साग रेकर्ड होल्डर वैकुण्ठ मानन्धर, ग्रिसका अवैतनिक राजदुत तथा एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाँडे काजी, लोकप्रिय अभिनेत्री करिष्मा मानन्धर, लोकदोहोरी गायिका सुनिता दुलाल, नेपाल पिस रनकी संयोजक स्वेता प्रधान, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, गिनिज वुक अफ वर्ल्ड रेकर्ड धावक हरि रोकाया, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, नेपाल रन युकेका अध्यक्ष सन्तोष राई, धावक पाण्डव महतो, वि विल राईज फाउन्डेसन नेपालका निर्देशक निर्मल श्रेष्ठ, ओलम्पियन नारायण गुरुङ, समाजसेवी सोम गुरुङ लगायतको टोली पोखरा आउने कार्यक्रम रहेको छ । त्यसै गरी लोकदोहरी प्रतिष्ठान गण्डकीका कलाकार र हिमाली सांस्कृतिक कार्यक्रमको प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
को कसले गर्दैछन् सहयोग
पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले वि.स.२०७२ देखि २०७७ सम्म संस्थागत रुपमै मूख्य प्रायोजन गरी प्रतियोगितालाई सफल पार्न भूमिका खेलेको छ भने थप आगामी तीन वर्ष २०७८ देखि २०८० सम्मका लागि सम्झौता गरिसकेको छ ।
त्यसै गरी गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल एथलेटिक्स संघ, पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक बैकिङ पार्टनरको रुपमा रहने छ भने, स्पोर्टस वेयर एक्स–टेप, केल्मी, अप्रिला स्कुटरको विक्रेता सिताज लाइफ स्टायल, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स मावि पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुमर्याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, गोकर्ण कार्की (बाराही बेकरी), हिमाअस एजुकेशन कन्सलटेन्सी न्यूरोड पोखरा, मुङलान रेष्टुरेन्ट एण्ड बार, बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ रहेका छन् ।
त्यसै गरी लेकसाइड एरिना फुटसल सञ्चालक बिनोद गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी पहारी, हिमश्री फुड्सका निर्देशक किरण केसी ज्यू, होटल वाराही लेकसाइड, माउन्ट कैलाश रिसोर्ट, होटल लेक प्यालेस, होटल एलिगेन्स, पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने संगै सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेका छन् । त्यसै गरी पोखरा म्याराथन सफल बनाउन फिजियो थेरापी एशोसियसन, नेलम्वो नेपाल, एम्वुलेन्स चालक संघ, पोखराका दुई दर्जन अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की, साइकल सिटी पोखरा, विभिन्न खेलकुद संघ–संस्थाहरु, टोल विकास संस्थाहरु, आमा समुहहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की लगायतले सहयोग गर्ने भएका छन् ।
१६ औं संस्करणको पोखरा म्याराथनको उद्घाटन फागुन ७ गते विहान ७ बजे गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यक्रम तय भएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
