कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतको अन्तिम साता

पोखरा स्पोर्टस । नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व.भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ । टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष–महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए ।

करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौलसमूहबाट ४ खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भि छनोट गरिने बताए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य योजनाकार मिनकृष्ण महर्जनले कोभिडले सुस्ताइ रहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने बताउदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।

प्रायोजक लिनिङका कार्यकारी प्रमुख राजन महर्जन र सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले प्रायोजनले आगामी दिन पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । प्रायोजन सम्बन्धी जानकारी छुट्टै पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइ आयोजक डोजोका अध्यक्ष श्रेष्ठले अवगत गराए ।

पत्रकार सम्मेलनमै आयोजक डोजोका सचिव विनोद श्रेष्ठलाई सह–संयोजकमा मनोनयन गरिएको जानकारी दिइयो । प्रतियोगिता संयोजक आठौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले विनोदलाई सह–संयोजकमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close