
पोखरा स्पोर्टस । पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् ।
पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।
कोभिडका कारण स्थगित हुन पुगेको आफ्नो घोषणालाई पुनः निरन्तरता दिने भएको पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङले बताएका छन् । “पोखरा म्याराथनको आफ्नै विशेषता मात्रै नभई यसले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउँदै गएको छ”, उनले भने,“हामी पोखरा म्याराथनको विजेता नेपाली धावकलाई युकेमा ल्याउन आतुर छौं ।” यहि नेपाली नयाँ वर्षबाट नेपाल रन क्लब यु के, पोखरेली मंच यु के र बेजिङ्गस्टक नेपाली समाज यु केको संयुक्त आयोजनामा‘नेपाल रन’ समेत आयोजना गर्ने तयारी गरिरहेको बताउँदै अध्यक्ष गुरुङले यो वर्ष नेपाल रनमा सम्भव नभए युकेमा आयोजना हुने कुनै पनि म्याराथनमा सहभागि गराउन पहल गर्ने बताए ।
पोखरा म्याराथन संगै नेपाल रन सफल बनाउन मञ्चले हालै युकेमा ‘च्यारिटी डिनर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै अध्यक्ष गुरुङले १६ औं संस्करणको पोखरा म्याराथनमा केही विशिष्ट व्यक्तिहरु पोखरा आउने तयारी गरिरहेको बताउँदै भने–“हामी नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराएर उनीहरुलाई थप हौसला बढाउन चाहन्छौ.।”
पोखरेली मञ्च युकेले पोखरा म्याराथन र नेपाल रन सफल बनाउन गैर आवाशिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ । खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले आर्थिक मात्रै सहयोग गरिरहेको छ भने युके लगायत विश्वका विदेशी र नेपालीहरुलाई पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको छ ।
