पोखरा स्पोर्टस । उजवेकिस्तान जान लागेकी बक्सिङ खेलाडी शुष्मा तामाङलाई कोभिड पोजिटिभ भए पछि उनी सहित नेपाली टोलीको यात्रा रोकिएको छ ।
उडान पूर्व गरिएको उनको कोभिड १९ पिसिआर परिक्षणमा पोजेटिभ देखिएको नेपाल बक्सिङ संघले एक विज्ञप्ती मार्फत जनाएको हो । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणामा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा हुने एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन बुधबार त्यसतर्फ जाने कार्यक्रम रहेको थियो । शुष्मा उक्त प्रतियोगिताका लागि छनौट समेत भएकी थिइन ।
उक्त प्रतियोगिता यहि २० देखि ३० जनवरी सम्म उजवेकिस्तानको राजधानी तासकन्द हुने भए पनि नेपालबाट सहभागि हुने एक मात्र खेलाडी शुष्माको पिसिआर परिक्षण पोजेटिभ भए पछि नेपालको प्रतिनिधित्व हुन नसक्ने बक्सिङ्ग संघले जनाएको छ । हाल शुष्माको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै विज्ञप्तीमा उनीमा कोभिड –१९ को कुनै पनि बाहिरी लक्षण नदेखिएको र अन्तिम मेडिकल टेष्टमा समेत पास भएको उल्लेख गरिएको छ । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकारको पिसिआर परिक्षण भने नेगेटिम आएको विज्ञप्तीमा जनाइएको छ ।
तिन दिन अघि मात्रै तासकन्द जान लागेको तिन सदस्यिय टोलीलाई यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नै निवासबाट विदाई समेत गरेका थिए ।
