
पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई नगद सहित तथा प्रतियोगिता अन्तर्गत चौथो हुने पुरुष भलिबल टोलीलाई पोखरामा सम्मान गरेको छ ।

पोखरामा जारी टाइगरकप भलिवल प्रतियोगिता अन्तर्गत विभिन्न टिमबाट सहभागिता जनाई रहेका भलिवल खेलाडीहरुलाई एकेडेमीले सम्मान गरेको हो । एकेडेमीले राष्ट्रिय महिला टोलीलाई जनही नगद ७ हजार सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा महिला टिमकी कप्तान अरुणा शाही, टिम व्यवस्थापक र टोली नेता याम वहादुर गुरुङलाई सम्मान गरेको थियो ।
खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा एकेडेमीका गण्डकी संयोजक राजेश कुमार गुरुङ, टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले सम्मान गरेका थिए । कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा एकेडेमीका गण्डकी संयोजक राजेश कुमार गुरुङले आफ्ना अग्रजहरुले देखाएको बाटोमा अघि बढ्दै खेलाडीहरुलाई सम्मान गरिएको बताए । उनले एकेडेमी मार्फत विभिन्न महानुभावको सहयोगमा नगद सहित सम्मान गर्न पाएकोमा गर्व लागेको बताउँदै आगामी दिनमा समेत खेलाडीहरुलाई सम्मान गरिने उल्लेख गरे ।
